पूर्वमन्त्री बस्नेतलेएक सय बेडको कोभिड-१९ सेवा केन्द्र खोल्ने घाेषणा


काठमाडौं – नेपाली कांग्रेसका केन्दीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा कोभिड-१९ सेवा केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् । बस्नेतले जिल्लामा संक्रमणको दर तीव्र रुपमा बढेकाले स्थानीयलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले एक सय बेडको कोभिड-१९ सेवा केन्द्र एक महिनाभित्र स्थापना गर्ने घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँँदै सेवा केन्द्रमा अक्सिजन, भेन्टिलेटरसम्मको व्यवस्था गरिने उनले बताए।कोभिड-१९ रोग नियन्त्रणमा आएपछि उक्त सेवा केन्द्र सरुवा रोग नियन्त्रण केन्द्रको रुपमा रुपान्तरण गर्ने बस्नेतको योजना छ ।

निकट भविष्यमा नै उनले कोरोना परीक्षण गर्ने पीसीआर मेसिनसमेत उपलब्ध गराउने बताए । यसअघि पनि पीसीआर मेसिन राख्ने बताएका बस्नेतले राजनीतिक खिचातानीका कारण राख्न असमर्थ भएको बताएका थिए ।

यसैगरी कोरोना संक्रमण र अन्य रोग लागेका बिरामीलाई अस्पताल पुर्याउन बस्नेतले जीप उपलब्ध गराउने बताए । जुन गाडी पछि आफूले फिर्ता नलिने बरु सञ्चालक समिति बनाएर त्यसलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सक्ने बनाउने उनले जानकारी दिए ।

कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै १ वर्षसम्म सवारी चालकको तलब भत्ता, गाडीको फ्युल (डिजेल) समेतको व्यवस्था व्यक्तिगत रुपमा आफैले गर्ने बस्नेतले प्रतिबद्धता जनाए । यथाशीघ्र गाडी हस्तान्तरण गरेर सेवा सुरु गर्ने बस्नेतले जानकारी दिए ।

गत सालको कोरोना संक्रमणमा गाउँ गाउँ पुगेर स्थानीय, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई बस्नेतले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । साथै जिल्लामा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीको बिमासमेत गराएका थिए ।

गत साल कोरोना संक्रमणबाट पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक राम्चेकी साबीत्री चालिसेको दुधे बालकलाई पौष्टिक आहारा खुवाउन भन्दै बस्नेतले एक लाख हस्तान्तरण गरेका थिए । उक्त बच्चालाई १२ कक्षासम्म निशुल्क पढाउने जिम्मेवारी पनि उनले लिएका छन् ।

प्रतिक्रिया