गाउँपालिका र नगरपालिका संघले भन्यो- उपाध्यक्ष हुँदाहुँदै सदस्यलाई कार्यभार तोक्न मिल्दैन


गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले अध्यक्ष अनुपस्थित रहँदा उपाध्यक्षलाई कार्यभार तोक्नुपर्ने बताएका छन्।

कतिपय गाउँपालिका र नगरपालिकाका प्रमुखले कार्यभार तोक्दा उपाध्यक्षलाई जिम्मेवारी नदिई वडाध्यक्ष लगायतलाई तोक्ने गरेकोमा संघले विरोध गरेको छ।

७५३ स्थानीय तहहरूलाई गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नगरपालिका संघ अध्यक्ष भीमप्रसाद ढुंगानाले आइतबार संयुक्त पत्राचार गर्दै ध्यानाकर्षणसमेत गराएका छन्।

अध्यक्ष ७ दिनभन्दा बढी समय गाउँपालिका र नगरपालिकामा अनुपस्थित हुने भएमा कानूनअनुसार निजको कार्यभार उपाध्यक्षले लिने व्यवस्था रहेको छ।

‘कानूनअनुसार अध्यक्षले उपाध्यक्षलाई कार्यभार तोक्नुपर्नेमा केही स्थानीय तहमा कार्यपालिका सदस्यलाई कार्यभार तोकिएका खबर आएका छन्,’ उनीहरूले भनेका छन्, ‘कानूनअनुसार उपाध्यक्षलाई कार्यभार दिन आग्रह गर्दछौं।’

पछिल्लो समय नेपाली कांग्रेसबाट निर्वाचित झापाको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले विदेश जाँदा उपाध्यक्ष प्रमिला न्यौपानेलाई कार्यभार नदिई वडा नम्बर २ का अध्यक्ष अशोक सुब्बालाई कार्यभार दिएपछि विवाद भएको थियो। उपाध्यक्ष न्यौपाने एमालेबाट निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया