सबैलाई रुवाउँदै अस्ताए व्यवसायी कँडेल


चितवन । ‘दुःखी र कमजोर मन लिएर मसँग डाक्टरको रूपमा पीडा पोख्न कोही आए म शङ्कर कँडेल दाइजस्तो हँसिलो, व्यस्त र समाधानपरक जीवन जिउनुपर्छ भन्थेँ । आज आफ्नो आँखा अघि त्यो आशा दिलाउने दियो निभ्यो, सहन गाह्रो भो । ‘ जिल्लाका परिचित चिकित्सक डा भोजराज अधिकारीले व्यवसायी शङ्कर कँडेलको निधनको खबर सुनेपछि सामाजिक सञ्जालमा पोस्ट गरेको ‘स्ट्याटस’ हो यो ।

यो साता जिल्लाका नेता कार्यकर्ता, व्यवसायी सबैको सामाजिक सञ्जालमा यस्तै स्ट्याटसले भरिए । कँडेलले मङ्गलवार साँझ देह त्याग गरेसँगै जिल्लामा स्तब्धता छायो । धेरै त्यो रात सुतेनन् । चोक चोकमा कँडेलकै चर्चा भयो । भोलिपल्टबाट सडकमा उनकै न्यायका लागि जिल्लावासी उर्लिए । यसलाई न त कुनै दलले रोक्न सक्यो, न त प्रशासनले ।

पाँच दशकको उमेर पार गरेका कँडेल जहिले पनि हँसिलो मुद्रामा भेटिन्थे । सबैलाई लाग्थ्यो, यस्तो मान्छेलाई पक्कै कुनै पीडा छैन । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ भन्दै थिए , ‘कँडेललाई भेटेपछि ऊर्जा उत्पन्न हुने गर्दथ्यो।’ उनी मात्रै होइन, सबै पार्टीका नेता कार्यकर्ता र व्यवसायीका लागि ऊर्जाशील थिए । कँडेल ।

पार्टी, सङ्घ संस्थालाई सहयोग चाहिँदा होस् वा कसैलाई बन्द व्यापार गर्नुपर्दा कँडेलकै ढोकामा सबै पुग्ने गर्दथे । कोही कसैले खाली हात फर्किनु पर्दैनथ्यो । कँडेलले जहाँ देह त्याग गरे, सुरुमा देख्दै गर्दा धेरैले आफूलाई सम्हाल्न सकेनन् । तिनैमध्येका एक थिए उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष राजन गौतम । उनको घर कँडेलको कार्यालयबाट नजिकै छ । घटना लगत्तै पुगेका उनले सुरुमा पत्यारै गरेनन् । उनले भने, ‘जब मैले कँडेल नै देखेँ, सम्हाल्न सकिनँ, म ढलेछु, झण्डै २० मिनेटपछि बल्लतल्ल उठेँ ।’

आफूले कँडेलको निधन भएको सुनेसँगै नि शब्द बनेको पूर्व सांसद कृष्णभक्त पोखरेलले बताए । उनले यसलाई अपत्यारिलो घटनाका रूपमा चित्रण गरेका छन् ।

काँग्रेस चितवनका पूर्व सभापति जीतनारायण श्रेष्ठले सबैलाई हँसाउने कँडेलको निधनले सबैलाई रुवाएको बताए । अप्रत्याशित घटनाले काँग्रेसलाई त क्षति पुगेकै छ समग्र व्यावसायिक क्षेत्रमा अपूरणीय क्षति पुगेको उनले बताए । उनले भने, ‘कँडेल काँग्रेसको मात्रै नभएर साझा व्यक्तित्व हुनुहुन्थ्यो ।’

व्यवसायी कँडेल नेपालका परिचित पोल्ट्री व्यवसायी थिए । काँग्रेस पार्टीका महासमिति सदस्य पनि थिए । आफूले सम्हालेको अनमोल फिड्सको अधिकांश शेयर बिक्री गरी अबको यात्रा राजनीतिक बनाउने योजनामा थिए उनी । पार्टीभित्रका गुट उपगुटको बीचमा साझा चरित्र बनाएका कँडेललाई काँग्रेस भनेर भन्दा सामाजिक व्यक्तित्व भनेर सबैले चिन्ने गर्दथे ।

कँडेलले भरतपुर महानगरपालिका–३ स्थित आफ्नै कार्यालयमा गत मङ्गलवार देह त्याग गरेका हुन् । उनले लेखेको मृत्यु पत्रमा दुई पात्रलाई मृत्युको कारण उल्लेख गरिएको छ । उनीहरूलाई पक्राउ गरी कारबाहीका लागि दैनिक प्रदर्शन हुँदै आएका छन् । उनीहरूमध्ये एक जीवन रावल पक्राउ परेका छन् भने प्रदीप रुङ्गटा फरार छन् । रावल कँडेलकै कम्पनीका चार्टर एकाउन्टेट हुन् भने रुङ्गटा कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका साझेदार हुन् ।

कँडेलको निधन भएको छैटौँ दिन आइतबार पवित्र तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिएको छ । उनी भरतपुर महानगरपालिका–८ निवासी थिए ।

प्रतिक्रिया