जुम्लामा खस प्रतिष्ठान र सङ्ग्रहालय बनाउन सांसद तामाङको माग
काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र)की सांसद छिरिङ ल्हामु लामा तामाङले सरकारसँग खस सभ्यता जोगाउन माग गर्नुभएको छ । बुधबार संसदको शुन्य समयमा बोल्दै सांसद तामाङले खस सभ्यताको संरक्षण र प्रचारका लागि जुम्लामा खस प्रतिष्ठान र सङ्ग्रहालय बनाउन माग गर्नुभएको हो । ‘खस सभ्यतालाई संसारमा चिनाउन जरुरी छ । यो हाम्रो मौलिक सभ्यता हो’, उहाँले भन्नुभयो, ‘यसका लागि सिञ्जामा खस प्रतिष्ठान र खस सङ्ग्रहालय स्थापना गरौँ ।’ उहाँले आगामी बजेटमा दुर्गम क्षेत्रलाई प्राथमिकता दिन भन्दै कर्णालीका सडकहरुलाई प्रयाप्त रकम दिन माग गर्नुभएको छ । ‘कर्णाली राजमार्ग, छिन्जु डोल्पा सडक, नाग्मा गमगढी नाङ्चेलाग्ना सडक, खुलालु हुम्ला सडकहरु लाई प्रयाप्त रकम विनियोजन गरौँ ।’ उहाँले भन्नुभयो । सांसद तामाङले खस सभ्यताको संरक्षण र जुम्ला विमानस्थलको स्तरोन्नतीका लागि यसअघि नै पर्यटन मन्त्रालयमा मागसहित ध्यानाकर्षण गराइसक्नुभएको छ ।