अवैध उत्खनन् गर्ने १३ ट्याक्टर नियन्त्रणमा
मध्यविन्दु,२४ चैत,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका क्षेत्रमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १३ वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । मध्यविन्दु–१५ मा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १२ र मध्यविन्दु–१३ मा उत्खनन् गर्ने एक वटा ट्याक्टर सशस्त्र प्रहरी र मध्यविन्दु नगर प्रहरीको संयुक्त टोलिले नियन्त्रणमा लिएको छ ।
मध्यविन्दु–१५ को अरुणखोलाबाट बिहान ४ः३० बजे अवैध उत्खनन् कार्यमा संलग्न १२ वटा ट्याक्टर सशस्त्र प्रहरी बेश क्याम्प चोरमाराका इन्स्पेक्टर सुमन बि.क.को नेतृत्वमा गएको नगर प्रहरी सहितको टोलिले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ट्याक्टरहरु आवश्यक कारवाहीको लागि मध्यविन्दु नगरपालिका पठाईएको छ ।
मध्यविन्दु १५ नदीजन्य पदार्थ उत्खनन् ठेक्का सम्झौता भएको उक्त क्षेत्रबाट अवैध रुपमा रातिको समयमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको जानकारी पाएपछि सशस्त्र प्रहरी र नगर प्रहरीको टोलि सो क्षेत्र पुगेको थियो ।
ठेक्का सम्झौता भएको क्षेत्र भएपनि सम्झौता विपरित रातको समयमा उत्खनन् गर्नु अवैध हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले बताउनुभयो । “ठेक्का सम्झौता भएपनि सम्झौतामा तोकिएको समयमा मात्रै उत्खनन् गर्न पाइन्छ अन्य समयमा अवैध हुन्छ” उहाँले भन्नु भयो “अर्को कुरा नदीजन्य पदार्थ उत्खनन्को लागि खोलामा प्रवेश गर्ने सवारीहरुसंग अनिवार्य रुपमा रसिद समेत हुनुपर्छ ।”
अवैध उत्खनन्मा संलग्न ना ६ त ६०१२, ना ६ त ६७७२, लु ४ त ५५५१, लु २ त ६४८९, ना ६ त ८२२७, ना ६ त ६५९६, लु ४ त ३०५८, लु ४ त ७८६५, लु ४ त ४९००, लु ४ त ७२९६, प्र. २–०३–००१ त १३ र प्र. २–०३–००१ त ४३७६ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । मध्यविन्दु १३ को गिरुवारी खोलामा नम्बर नखुलेको ट्याक्टर नियन्त्रणमा लिएको मध्यविन्दु नगरप्रहरी प्रमुख नारायण बिष्टले बताउनुभयो ।
अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टहरुले पहिलो पटक १५ हजार रुपैया र त्यसपछि पटकेको आधारमा जरिवाना बुझाउनु पर्ने मध्यविन्दु नगरपालिकाको नियम रहेको छ ।