नारायणघाट-बुटवल सडकमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’


नवलपरासी, चैत्र १-पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक विस्तारको क्रममा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण हुने भएको छ । सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड (गैडाकोट–दाउन्ने) मा २२ र पश्चिम खण्ड (दाउन्ने–बुटवल) मा १३ गरेर जम्मा ३५ अन्डर पास तयार हुने आयोजनाका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए ।वन्यजन्तुका कारण हुने सडक दुर्घटना तथा दुर्घटनाबाट वन्यजन्तुलाई जोगाउन साना र ठूला अन्डरपास निर्माण गरिने झाले बताए । उनका अनुसार ३५ अन्डरपासमध्ये कतिपय ठूला पुल र कल्भर्टलाई अन्डरपासको रूपमा बनाइएको छ । पुल र ठूला कल्भर्ट नभएका स्थानमा अन्डर पासकै संरचना बनाइने छ । यसरी निर्माण गरिने अन्डरपास ३ मिटरदेखि १२ मिटरसम्म उचाइ र आवश्यकताअनुसार १६ मिटरसम्म फराकिलो हुने झाले जानकारी दिए ।

यसरी निर्माण गरिने अन्डर पासमा वन्यजन्तुको निगरानी गर्नका लागि क्यामेरा राख्ने गरी निर्माण गरिएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा ‘ओभरपास’को व्यवस्था नभएको भए पनि दातृ निकाय एसियाली विकास बैंकले दुम्कीवासको विनयी खोलाको पुलभन्दा केही पूर्वतर्फ एउटा ओभर पास बनाउनुपर्ने आशय व्यक्त गरेकाले ओभरपासको सम्बन्धमा अध्ययन भइरहेको झा बताउँछन् । यसअघि गत वैशाखमा सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका जारी गर्दै वन्यजन्तुको ज्यान जोखिममा पर्ने गरी पूर्वाधार निर्माण गर्न रोक लगाएको थियो ।

नेपालमै पहिलोपटक नारायणघाट मुग्लिन सडकमा वन्यजन्तुका लागि अन्डरपास निर्माण गरिएको थियो । निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ करपोरेसनले गैंडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडक बस्ती क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा ४ लेन, दाउन्नेमा ३ लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा कूल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा राजमार्गको विस्तार भइरहेको छ ।

लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडीबीले १ दशमलव ५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । साढे ३ वर्षमा सडक निर्माणको काम सक्ने र ५ वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ चैत्र ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

प्रतिक्रिया