संरक्षण गरिएका १० गिद्ध प्रकृतिमा छाडिँदै
विष्णुप्रसद गौडेल,मध्यविन्दु,२६ फागुन,(रासस):
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को जटायु रेस्टुरेन्टमा राखिएका १० वटा गिद्धलाई शनिवार प्रकृतिमा छाडिने भएको छ । गत कात्तिक १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट जटायु रेस्टुरेण्टको खोरमा राखिएका १० वटा गिद्धलाई शनिवार प्रकृतिमा छाडिने तयारि गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज कसरामा रहेको गिद्ध प्रजनन् केन्द्रमा हुर्काइएका र त्यस केन्द्रमा जन्मिएका गिद्धलाई सुरक्षित प्राकृतिक वासस्थानमा पुर्नस्थापन गर्नका लागि विश्वकै दुर्लभ डंगर प्रजातीका गिद्धहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको गिद्ध पुर्नस्थापना कार्ययोजना अनुसार नमुना मध्यवर्ती सामुदायिक वनमा अवस्थित जटायु रेष्टुरेण्ट क्षेत्रमा छाड्ने तयारि गरिएको संरक्षण विज्ञ डिबी चौधरीले बताउनु भयो । “छाड्नुअघि ती गिद्धको अवस्था र स्वास्थ्यको बारेमा अनुसन्धानका लागि प्राविधिकले काम गरिरहेका छन् ” उहाँले भन्नु भयो “खोरमा राखिएका सबै गिद्धको स्वास्थ्य अवस्था परीक्षण गरिएको छ, सबैको स्वास्थ्य राम्रो रहेको र लगाइएका ‘सेटलाइट ट्याग’ ठीक अवस्थामा रहेको छ ।”
जालीभित्र र बाहिर एकै ठाउँमा खाना र पानीको व्यवस्था जटायु रेस्टुरेण्टमा गरिएको छ । उनीहरुलेसँगै खाँदै आएकाले जालीभित्रका गिद्ध पनि बाहिरका गिद्धसँग घुलमिल भएको अनुमान गरिएको छ । अति संकटापन्न अवस्थामा रहेको डंगर जातको गिद्धको संख्या बढाउनका लागि सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
कसराको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका ५९ गिद्धलाई अहिलेसम्म जङ्गलमा छाडिसकिएको छ । जङ्गलमा छाडिएका गिद्धको गणना गर्न ढाड र खुट्टामा सेटलाइट ट्याग लगाएर छाडने गरिएको संरक्षणविज्ञ चौधरीले बताउनुभयो । “खुट्टामा नम्बर ट्याग र ढाडमा सेटलाइट ट्याग लगाइएको छ”, उहाँले भन्नुभयो “यहाँबाट छाडिएका गिद्ध कहाँ र कुन अवस्थामा छन् दैनिक मनिटरिङ गरिन्छ ।”
लोपोन्मुख गिद्धको संरक्षण गरेर सङ्ख्या बढाउन भन्दै विसं २०६३ भदौमा कावासोतीको पिठौलीस्थित सामुदायिक वनमा गिद्ध रेष्टुरेन्ट सुरु गरिएको हो । त्यो रेष्टुरेन्टमा बुढ्यौली लागेका चौपाया आहारा दिएर गिद्धलाई लोभ्याइन्छ । नेपालबाट सुरु गरिएको गिद्ध प्रजनन केन्द्र र जटायु रेष्टुरेन्ट प्रोजेक्ट संसारमै सफल मानिएको छ । नेपालमा अहिलेसम्म ५९ वटा गिद्ध प्रजनन केन्द्रमा हुर्काएर जङ्गलमा छाडिएको छ ।
जङ्गली ४० गिद्ध समातेर सेटलाइट ट्याग लगाएर जङ्गलमै छाडिएको छ । लोपोन्मुख गिद्ध संरक्षणको अभियानस्वरुप नेपालमा हाल नौ प्रजातिका गिद्ध पाइन्छ । नेपालमा पाइने गिद्धमध्ये जटायु रेष्टुरेन्ट पिठौलीमा आठ प्रजातिको गिद्धको बासस्थान रहेको छ । नेपालभर करिब १५ हजारको सङ्ख्यामा गिद्ध रहेको अनुमान गरिन्छ ।