हुप्सेकोट गाउँपालिकामा अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा


विष्णुप्रसाद गौडेल
मध्यविन्दु,२३ पुस,(रासस)ः
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अशक्त अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेकाले त्यसको कार्यान्वयन प्रकृया अगाडि वढाइएको हो ।
गाउँपालिका भित्रका अशक्त अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय कार्यान्वयन गर्न लागिएको गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले वताउनु भयो । “गाउँपालिकाले सबै नागरिकको सहज स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकतामा राखेको हुँदा स्वास्थ्य बीमा गर्न नसक्ने विपन्न परिवारको गाउँपालिकाले नै बीमा गरिदिने छ” अध्यक्ष पाण्डेले भन्नु भयो “कार्यविधि अनुसार गरिव तथा विपन्न परिवार पहिचान गरि स्वास्थ्य बीमामा समावेश गरिने छ ।”
हुप्सेकोट गाउँपालिका भित्र रहेका अशक्त अपाङ्ग र गरिब पहिचान भएका घर परिवारलाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य बीमा अगाडि वढाइने प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्रप्रसाद बस्यालले बताउनु भयो । “निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमम कार्यान्वयनका लागि कार्यविधि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ” बस्यालले भन्नु भयो ।
निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष देखि बजेट व्यवस्था गरेको छ । पहिलो चरणमा अशक्त अपाङ्गको स्वास्थ्य बीमा गर्ने गरि तयारी थालिएको छ । गाउँपालिका भित्रका परिचय पत्र प्राप्त अपाङ्गको निःशुलक स्वास्थ्य बीमा सुरु गर्न लागिएको गाउँपालिका सुचना अधिकारी राजेन्द्र प्रसाद रेग्मीले बताउनु भयो ।

प्रतिक्रिया