नवलपुरमा सडक दुर्घटना संयुक्त उद्धार सम्बन्धी नमूना अभ्यास सम्पन्न


नवलपरासी पूर्वको डण्डा वजार देखि केहि पूर्व तर्फ एकाबिहानै निकै भिड थियो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोती १६ पत्थरखोला पूर्व तर्फ बस र मोटरसाइकल एक आपसमा ठोक्किए । बाटोमा एक महिला र एक पुरुष सडकमा लडिरहेको थिए । मोटरसाइकलमा सवार उनीहरु दुईजना रोडमा रगताम्मे थिए भने ट्रिपर संग ठोकिएको बसबाट पनि यात्रुहरु चिच्याएको सुन्निथ्यो । बाटोमा हिँड्ने यात्रु तथा सवारी चलाएकाहरु समेत रोकेर एक आपसमा कुराकानी गर्दै थिए,‘ठुलो दुर्घटना भएको रहेछ ।’ हुन पनि सडकमा ठूलै दुर्घटना भएको थियो तर त्यो थियो एक नाटक मात्रै ।के रहेछ भनेर बुझदै जादा उद्धार सम्बन्धी संयुक्त नमूना अभ्यास रहेछ ।

ठुलै जनधनको क्षती हुने गरी सडक दुर्घटना भएमा सम्पूर्ण सरोकारवाला निकायहरुले क्षती न्यूनिकरणका लागि गरिने उद्धारका कार्यहरुको अभ्यास गर्ने उद्देश्यले नमुना अभ्यास गरिएको थियो । संयूक्त नमूना अभ्यासमा जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्व, श्री नं.२ वन तथा पर्यावरण सुरक्षा गण हात्तिखोर, जिल्ल प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय , नेपाल रेडक्रस सोसाईटी ,सशस्त्र प्रहरी बल नेपाल ३१ नं. गुल्म भेडावारी र मध्यविन्दु जिल्ला अस्पताल डण्डाले दुर्घटनाका समयमा आ आफूले निर्वाह गर्नुपर्ने भूमिका प्रदर्शन गरेका थिए ।


ठूला दुर्घट्ना हुँदा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी अर्थात तीनवटै सुरक्षा निकायको समन्वयमा उद्धार गर्ने पूर्वतयारी स्वरुप यो अभ्यास गरिएको हो ।नेपाल प्रहरीको समन्वयमा नेपाल आर्मी र सशस्त्र प्रहरीसमेत उद्धारमा खटिएको थियो । रेडक्रसको टिम प्राथमिक उपचारमा खटियो भने मध्यविन्दु जिल्ला अस्पतालको टिम अस्पतालमा घाइतेको उपचारको अभ्यास गरियो । बिपद कुनै पनि समयमा आउन सक्ने हुनाले बिपद ब्यबस्थापनका लागि पूर्व तयारी स्वरुप अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनु भयो ।
घट्नाको प्रकृति हेरेर कतै एकल प्रयास त कहीँ तीनवटै सुरक्षा निकायको समन्वयमा उद्धार गर्नका लागि पूर्वतयारी स्वरुप नमूना अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय नवलरासी पूर्वका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनु भयो । अन्तर्राष्ट्रिय विपद व्यवस्थापन सप्ताहको अवसरमा तीन वटै सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयको संयोजनमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रतिक्रिया