नवलपरासी पूर्वमा निर्वाचनको तयारी तिब्र


नवलपुरमा एक हजार २८६ जना म्यादी प्रहरी छनोट
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि नवलपरासी पूर्वमा एक हजार दुई सय ८६ जना म्यादी प्रहरी छानिएका छन् ।
एक महिना १० दिनको कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ सम्म आवेदन खोल्दा आवेदन दिएका मध्य पूर्व सुरक्षाकर्मी तथा पूर्व म्यादी प्रहरीबाट ६०१ जना र सर्वसाधारण तर्फका ६८५ जना छानिएका छन् ।
जिल्ला प्रहरी कार्यालयले मागेको भन्दा आवेदन दिनेको संख्या बढी भएकाले वैकल्पिकतर्फ ३८५ जनालाई छानिएको छ ।
छनौट भएका म्यादीलाई असोज ३० गतेदेखि कात्तिक ८ सम्म प्रहरीबाट निर्वाचन सुरक्षा तालिम दिएर कात्तिक ९ गतेदेखि फिल्डमा खटाइने जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।
छनौट भएका म्यादी प्रहरीहरुलाई जिल्लाको पाँच स्थानमा तालिम दिइने भएको छ । जिल्ला प्रहरी कार्यालय कावासोती , ईलाका प्रहरी कार्यालय रजहर, ईलाका प्रहरी कार्यालय डेढगाउँ, ईलाका प्रहरी कर्यालय गैंडाकोट र ईलाका प्रहरी कार्यालय दुम्किबासमा १० दिने तालिम सञ्चाल गर्ने गरि सुचना प्रकाशन गरिएको छ ।
म्यादी प्रहरीहरुलाई मतदान स्थलमा खटाउने गरी सुरक्षा कार्ययोजना बनाइएको बताइएको छ भने उनीहरुले ४० दिनको तलब, भत्ता, रासन, पोसाकबापत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउने भएका हुन् ।

मतदानस्थल निरीक्षण कार्य जारी
आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका लागि नवलपरासी पूर्वमा तोकिएका मतदान स्थलको सुरक्षा अवस्था व्यवस्थापनका लागि अनुगमन कार्यलाई तिव्रता दिइएको छ । जिल्लामा आगामी निर्वाचनका लागि एक सय १३ मतदानस्थल र तीन सय दुई वटा मतदान केन्द्र तोएिको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा ५७ मतदानस्थल र एक सय ५३ मतदान केन्द्र र क्षेत्र नं २ मा ५६ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् ।
निर्वाचनलाई स्वच्छ एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका निमित्त मतदानस्थल र शान्ति सुरक्षाको अवस्था लगायतको जानकारी लिने उद्धेश्य अनुरुप अनुगन जारी रहेको मुख्य निर्वाचन अधिकृत कमलराज पन्थीले वताउनु भयो । अनुगमनमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, नेपाली सेनाका प्रमुख सेनानि दिपेन्द्र बोगटी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी, राष्ट्रिय अनुसनधान प्रमुख प्रहरी उपरीक्षक सुशान्त बराल र सशस्त्र प्रहरी बल प्रमुख बिनोद खतिवडा सहितको टोली खटिएको छ ।

निर्वाचन आचारसंहिताबारे दलहरूलाई जानकारी
मुख्य निर्वाचन अधिकृतको कार्यालयले नवलपरासी पूर्वमा रहेका दल र तीनका प्रतिनिधि एवं सरोकारवालालाई निर्वाचन आचारसंहिताका बारेमा जानकारी गराएको छ । दलबाट उम्मेदवारी दिएका तथा स्वन्त्ररूपमा उम्मेदवारी दिएका उम्मेदवारले निर्वाचनको पालना गर्नुपर्नेबारे जानकारी गराइएको हो । निर्वाचनलाई निष्पक्ष, स्वच्छता, पारदर्शी तथा भयमुक्त वातावरण बनाउन आचारसंहिताबारे जानकारी दिइएको हो ।
आचारसंहिताबारेमा जानकारी दिँदै मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुइँटेलले दल र उम्मेदवारले आमसभा गर्दा सभ्य तवरले जुलुस, आमसभा, भेला गर्नुपर्ने, कसैको घरपरिवारको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नपाइने, निर्वाचन चिह्न वा झण्डा अङ्कित स्टिकर, कपडा, ब्याज, मास्क, लकेट वा झोला बोक्न नहुने, निजी घरजग्गा वा सार्वजनिक स्थानमा निर्वाचन चिह्न, दलको झण्डा टाँस्न वा राख्न नपाइने जानकारी गराउनुभयो । प्रचार–प्रसार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने, बालबालिकाको प्रयोग गर्न नपाइने, ७५ ग्रामको कागजमा तीन सय वर्ग इन्चको एउटै रङ र मुद्रकको नामसहितको पर्चा प्रयोग गर्नुपर्ने, तीन–चार फिटको झण्डा र सोही नापको चुनाव चिह्न राख्नुपर्ने सो अवसरमा जानकारी गराइएको थियो ।
कात्तिक १७ गतेदेखि मात्र जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम गर्नुपर्ने भोजभतेर, नगद वा जिन्सी वितरण गर्न नपाइने, निर्वाचन अधिकृतको अनुमतिले दुईवटा सवारीसाधन मात्रै प्रयोग गर्न पाइने सो अवसरमा जानकारी दिइएको थियो । सञ्चारमाध्यममा प्रचार–प्रसार गर्दा प्रदेशसभाको एक घण्टाको अन्तरालमा बढीमा तीनपटक र प्रतिनिधिसभाको सदस्यका लागि चारपटक एक मिनेटको प्रचार सामग्रीमात्र प्रचार गर्नुपर्ने निर्वाचन अधिकृत लुइँटेलले बताउनुभयो । पत्रपत्रिकामा बढीमा सात–सात इन्चसम्मको प्रचार सामग्री छाप्न पाइने र विदेशी सञ्चारमाध्यमबाट प्रचार–प्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारी सहित जिल्लामा रहेका राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया