हुप्सेकोट गाउँपालिकाको पहिलो निर्णयः विपन्न नागरिकको नि:शुल्क स्वास्थ्य विमा
नवलपुर,हुप्सेकोट गाउपालिकाको पहिलो बैठकले गाउँपालिका भित्रका विपन्न नागरिकको नि:शुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेको छ । हुप्सेकोट गाउँकार्यपालिका बैठकले गाउँपालिका भित्रका विपन्न नागरिकको नि:शुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले वताउनु भयो । गाउँपालिकाले सबै नागरिकको सहज स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकतामा राखेको हुँदा स्वास्थ्य विमा गर्न नसक्ने विपन्न परिवारको गाउँपालिकाले नै विमा गरिदिने निर्णय गरिएको हो । यसका लागि कार्यविधि वनाएर गरिव तथा विपन्न परिवार पहिचान पछि लागु गरिने भएको छ । दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भइसके पछि विगतको राम्रो कामको निरन्तरतासंगै थप जनमुखि काम थाल्ने आफ्नो लक्ष्य अनुरुप आफु अगाडि बढ़ने अध्यक्ष पाण्डेले बताउनुभयो । साथै पहिलो गाउँकार्यपालिका बैठकले गाउँकार्यपालिका कार्यालयमा नागरिक सहायता कक्ष स्थापना गर्ने निर्णय गरेको छ । कार्यालयमा विभिन्न सेवा लिन आउने नागरिकलाई सहज तरिकाले सेवा प्रवाह गर्न नागरिक सहायता कक्ष स्थापना गर्ने निर्णय भएको अध्यक्ष पाण्डेले बताउनु भयो । नागरिकको गुनासो टिपोट, कुन कामका लागि कुन कक्ष जाने , आवश्यक कागज पत्र पुरा भए नभएको सहजिकरण गरिदिने लगायतका सेवा प्रदान गर्नका लागि नागरिक सहायता कक्ष सञ्चालन गरिने भएको हो । लक्ष्मी देवी पाण्डे गाउँपालिका अध्यक्ष भए पछिको पहिलो कार्यकालको पहिलो बैठकवाट सुत्केरी महिलालाई सुत्केरी पोषण खर्च वापत ५ हजार दिने कार्यक्रम सुरु गरिएको थियो । त्यसैगरी छोरी जन्मिए पाँच हजार रुपैयाँ बैंक खातामा जम्मा गरिदिने लगाएतका लोकप्रिय कार्यक्रमहरु सञ्चालन गरिएका छन् । हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष ,उपाध्यक्ष सहित ६ वटै वडामा विजयी हासिल गरेको छ ।