सरस्वती संस्कृत तथा साधारण मा.वि.मा स्वर्ण महोत्सवको तयारी अन्तिम चरणमा
दिपेन्द्र रेग्मी, मंसिर २२, कावासोती, सरस्वती संस्कृत तथा साधारण मा.वि.ले ५३ औँ वर्ष पार गरेको अवसरमा मनाउन गइरहेको स्वर्ण महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका ३ गिरुवारीमा अस्थित जिल्लाकै पुरानो संस्कृत मा.वि.ले आउँदो मङ्सिर २९ गते देखि पौष ३ गते सम्म स्वर्ण महोत्सव मनाउने भएको हो ।
स्वर्ण महोत्सवमा स्वर्ण स्तम्भ अनावरण, स्वर्ण स्मारिका विमोचन सङ्गै प्राविधिक शिक्षा सञ्चालनका लागि विविध कार्यक्रम सञ्चालन गर्न लागिएको भन्दै स्वर्ण महोत्सव मूल आयोजक समितिका संयोजक अमर गोदारले उद्घाटनकादिन मंसिर २९ गते शनिवार विभिन्न जातजातिको आ आफ्नै भेसभुसा एवं संस्कृति, विद्यार्थिहरुको सांस्कृतिक कार्यक्रम सहित सुरुवात गरिने बताए ।
पञ्चायत कालिन समय विक्रम सम्वत २०२७ सालमा तत्कालीन कावासोती गाउँ पञ्चायतको विशाल गाउँभाबाट जनता राष्ट्रिय प्रा.वि.बेलुवाको शाखाको रूपमा शिशु कक्षा र १ कक्षा सञ्चालन गर्ने अनुमति पाएको दिनलाई नै विद्यालयले आफ्नो स्थापना दिवसका रूपमा मनाउँदै आएको विद्यालयका पूर्व प्र अ रामशरण पाण्डेयले आफ्नो स्मारिकामा उल्लेख गरेका छन् ।
पाण्डेयका अनुसार राष्ट्रिय शिक्षा पद्धति योजना २०२८ लागु भएपछि २०३२ सालमा प्रा.वि. तह र २०३४ साल माघ २८ गते नि.मा.वि. तहको स्वीकृति प्राप्त गरेको थियो । तत्कालीन प्रधानाध्यापक हरिप्रसाद रेग्मीको नेतृत्वमा तत्कालीन जलश्रोत मन्त्री डा. यादव प्रसाद पन्तको सक्रिय सहयोगमा जिल्लाको एक मात्र संस्कृत विद्यालयको रूपमा जनता नि.मा.मिको नाउँबाट सञ्चालित विद्यालय २०४४ साल पछि सरस्वती संस्कृत मा.वि बनेको हो ।
२०४० सालको चैतमा आएको हावा हुरीले जनश्रमदानबाट निर्मित दुई तले १५ कोठे भवनको छानो उडाइदिएपछि स्थानीय अग्रज व्यक्तित्वहरूको अथक मिहिनेत र प्रयास पछि तत्कालीन प्र.अ. दामोदर शरण शर्माको अगुवाइमा १२ कोठे पक्की भवनको निर्माण भएको थियो । विद्यालयले २०४३ सालमा पहिलो पल्ट आफ्ना विद्यार्थिहरुलाई एस.एल.सी. परीक्षामा सामेल गराएको थियो ।
विद्यालयले परिवर्तित समाजसँगै साधारण शिक्षा पनि सञ्चालन गर्नुपर्छ भन्ने मान्यताकासाथ तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्रबहादुर बयम्बू, सदस्यहरू प्रेमनारायण रेग्मी, झविलाल पाण्डे, गुरु प्रसाद खनाल, धन बहादुर रजाली लगायतका व्यक्तिहरूको अगुवाइमा २०५५ साल फाल्गुन ९ गते उच्च मा.वि. तहको कक्षा सञ्चालन गर्ने निर्णय भएको थियो । विभिन्न आरोह अवरोह पार गर्दै आँफुलाई जिल्लाकै अग्रणी शैक्षिक संस्थाको रूपमा उभ्याएको विद्यालयले आफ्नो पुरानो भौतिक संरचना फेर्दै नयाँ भौतिक संरचनाहरूमा अध्ययन अध्यापन गराउँदै आएको छ ।
५ दशक भन्दा लामो गौरवपूर्ण इतिहास बोकेको विद्यालयले अब आँफुलाई प्रविधिमैत्री विद्यालयका रूपमा ढाल्ने उद्देश्य सहित स्वर्ण महोत्सव मनाउन गइरहेको हो । कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ सञ्चालन गर्ने योजना सहित बालमैत्री एवम् प्रविधिमैत्री कक्षाकोठा निर्माण, सुविधायुक्त विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब र ई–पुस्तकालयको व्यवस्था, स्मार्ट बोर्ड सहितको सुविधा सम्पन्न सेमिनार हल निर्माण, बालमैत्री बाल उद्यानको निर्माण, साथै विद्यार्थिहरुकालागि यातायातको प्रबन्ध गर्ने उद्देश्यका साथ स्वर्ण महोत्सव आयोजना गर्न लागिएको प्रधानाध्यापक टङ्कनाथ ढकालले बताए ।
स्वर्ण महोत्सवमा मङ्सिर २९ गते कलश यात्रा, स्वर्ण महोत्सव स्तम्भ अनावरण सहित समुद्घाटन, स्वर्ण स्मारिका विमोचन, शुभकामना मन्तव्य, स्थानीय झाँकी र मौलिक भेसभुसासहितको नृत्य, विद्यार्थीहरूको प्रतिभा प्रदर्शन समेत गरिने उनको भनाई छ । त्यस्तै मंसिर ३० गते पूर्व शिक्षक तथा विद्यार्थी पूर्नमिलन कार्यक्रम, रक्तदान कार्यक्रम, मा.वि. तहका विद्यार्थिहरुको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिने छ ।
पौष ०१ गते संस्थापक सदस्य तथा परिवार, आजीवन सदस्य, अक्षयकोष दाता, पूर्व तथा वर्तमान चन्दादाताहरूको सम्मान कार्यक्रम, अभिभावकहरू बिच मैत्रीपूर्ण खेल, विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गरिने त्यस्तै पौष ०२ गते मङ्गलवार वर्तमान शिक्षक तथा कर्मचारी सम्मान, अक्षयकोष दाता सम्मान, विद्यार्थीहरूको प्रतिभा प्रदर्शन, विभिन्न प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थिहरुलाई पुरस्कार तथा अक्षयकोष छात्रवृत्ति वितरण र पौष ३ गते महोत्सवको समापन कार्यक्रम गरिने ढकालले बताए ।