नवलपुरका पहाडी क्षेत्रमा कफी खेती बिस्तार हुँदै


मध्यविन्दु (नवलपरासी), २९ फागुन,(रासस)
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिकाका कमला गुरुङले चार वर्षदेखि कफी खेती गर्दै आउनुभएको छ । व्यावसायिक रूपमा आफ्नै पाखा पखेरामा करिब तीन सय कफीका बिरुवा लगाउनुभएका गुरुङले राम्रो आम्दानी गर्न सफल हुनु भएको छ । विगतकामा भन्दा यो वर्ष कफी खेती राम्रो रहेकाले यस वर्ष आम्दानी पनि बढ्ने अनुमान गरेको गुरुङले बताउनु भयो ।
“पहाडी क्षेत्रमा कफी खेती राम्रो हुन्छ भन्ने सुनेको थियौ, पछि थोरै सङ्ख्यामा बिरुवा लगाएर विचार गर्दा राम्रो उत्पादन भए पछि अहिले यसैलाई व्यावसायिक रूप दिएका छौ”,उहाँले भन्नु भयो ।
जिल्लाकै हुप्सेकोट गाउँपालिकाका तुलीसरा राना मगरले पनि दुई सय कफीका बिरुवा सहित कफी खेती गर्नुभएको छ । पहाडी क्षेत्रको त्यो पनि चिसो ठाउँमा कफी लगाउन सकिने र कफीबाट मनग्ये आम्दानी समेत लिन सफल भएपछि आगामी वर्ष आफूले कफी खेती विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ ।
“कफी खेती बिस्तार हुने क्रम बढ्दो छ, यसको बजार राम्रो भएकाले अन्य छिमेकीहरू पनि यसको बारेमा सोधखोज गर्न थालेका छन्”,उहाँले भन्नु भयो,“अहिले गरिरहेको क्षेत्रलाई विस्तार गरी काम गर्ने सोच बनाएका छौ ।”
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को पहाडी भेगका गाउँमा कमला र तुलीसरा जस्तै कफी खेती गर्ने किसानहरू बढ्दै गएको छ । सामान्य कफी खेतीबाट सुरु गरेका किसानले अहिले व्यावसायिक रूपमा सुरु गर्न थालेका छन् । यसको उत्पादन समेत राम्रो हुँदै गएकोले कफी खेती तर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएको किसानहरू बताउँछन् ।
जिल्लाको हुप्सेकोट, बुलिङटार र बौदीकाली गाउँपालिकामा अहिले किसानहरू कफी खेतीतर्फ आकर्षित हुन थालेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुल प्रसाद तिवारीले बताउनु भयो ।
“जिल्लामा करिब पाँच सय किसानले ११ हेक्टरमा व्यावसायिक कफी खेती गरिँदै आएको तथ्याङ्क छ”,उहाँले भन्नु भयो,“यहाँ प्रतिहेक्टर ०.८ मेट्रिक टन कफी उत्पादन हुने गरेको छ ।”
कफी खेती प्रवर्द्धनका लागि सरकारले विभिन्न सहुलियतका कार्यक्रम सहित निर्यात प्रवर्धन गर्ने योजनाहरू अगाडि बढाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशीले बताउनु भयो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डकाले स्थानीय तहसँग सहयोग र समन्वयका साथ उत्पादन अभिवृद्धिका कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको उपसचिव जोशीले सुझाव दिनु भयो ।
“स्थानीय तह सँग सहकार्य गर्दा नेपाली कफीको उत्पादन बढाउन सहज हुने देखिन्छ”,उहाँले भन्नु भयो,“पहाडी गाउँमा कफी खेती तर्फ किसानको आकर्षण बढ्दो छ ।”
नेपालमा ४२ जिल्लामा करिब तीन हजार छ सय ५५ हेक्टरमा कफी खेती हुने गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा नेपालमा कफीको उत्पादन करिब तीन सय ९४ टन रहेको सरकारी तथ्याङ्क रहेको छ । सोही आर्थिक वर्षमा नेपालले रु १३ करोड चार लाख ४१ हजार मूल्य बराबरको ७७ टन कफी निर्यात गर्दा रु ३२ करोड ५८ लाख ६६ हजार मूल्य बराबरको चार सय ५० टन कफी आयात गरेको थियो ।

प्रतिक्रिया