मध्यविन्दु नगरपालिकामा सुकुम्वासीलाई निःशुल्क जग्गाधनी लालपुर्जा वितरण


मध्यविन्दु (नवलपरासी), २३ फागुन,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले वडा नम्बर १ सेतापानीमा रहेका ९० घर सुकुम्बासीहरुलाई आज निःशुल्क जग्गाधनी लालपुर्जा वितरण गरेको छ ।
मध्यविन्दु नगरपालिका १ मा रहेका दलित सुकुम्वासी, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरु मध्ये पहिलो चरणमा ३४ जना दलित सुकुम्वासी र ५६ जना भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताउनु भयो ।


लालपुर्जा वितरण कार्यक्रममा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवम् सङ्घीय सांसद पृथ्वी सुब्बा गुरुङ, नवलपरासी(बर्दघाट सुस्तार्पू) क्षेत्र नं. २ का सांसद विष्णु कार्की, प्रदेश सांसद पदमा जिसी श्रेष्ठ, पूर्व प्रदेश सांसद जनकलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विक, राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेल लगायतको सहभागितामा लालपुर्जा वितरण गर्नु भएको हो ।


कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवम् सङ्घीय सांसद पृथ्वी सुब्बा गुरुङले लामो समयदेखि रोकिएर बसेको भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्ने कार्य सुरु भएको भन्दै अब नेपालमा सबै भूमिहीन सुकुम्वासीहरूले लालपुर्जा प्राप्त गर्ने बताउनु भयो ।


त्यसै गरी सङ्घीय सांसद विष्णु कार्कीले लामो समेतदेखि भूमि अधिकारबाट वञ्चित रहेको भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिलाउने राज्यको दायित्व भएको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले नवलपुरमा असार साउन सम्ममा १३ हजार बढी लालपुर्जा वितरण गरिने गरी आयोगले काम फत्ते गरेको बताउनु भयो ।

त्यसै गरी मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले आफूले चुनावमा गरेको बाचा अनुसार भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा दिने पहिलो प्राथमिकतामा राखेर आफूले काम गरेको बताउनु भयो ।

प्रतिक्रिया