मध्यविन्दुमा बाघ मृत अवस्थामा भेटियो


मध्यविन्दु (नवलपरासी), ४ फागुन, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका १० अरुणखोलामा भाले प्रजातिको बाघ मृत अवस्थामा फेला परेको छ । अरुणखो बाट भूपु तमासपुर जाने बाटो नजिकै वनमा बाघ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेले बताउनु भयो ।
डिभिजन वन कार्यालयका वन अधिकृत अर्जुन सापकोटाले उक्त बाघ कालगतिले मरेको हुन सक्ने बताउनु भयो । “प्रकृत हेर्दा बाघ १०/१५ दिन अगाडि मरेको जस्तो देखिन्छ”,उहाँले भन्नु भयो,“बाघ सडिगलिसकेको अवस्थामा फेला छ ।”
उक्त बाघलाई स्थानीय बासिन्दा, प्रहरी र वन कर्मचारीको रोहबरमा मुचुल्का तयार पारी थप अनुसन्धान गरिने वन अधिकृत सापकोटाले बताउनु भयो । उक्त बाघ भाले बाघ रहेको र १२/१५ बर्षको उमेरका बाघ भएको अनुमान गरिएको छ ।
स्थानीयले ८/१० दिन अघि उक्त बाघ देखे पनि सुतेर बसेको आशंकामा बाघलाई छाडेको स्थानीय बासु कोइरालाले बताउनु भयो । अहिले जंगल जाँदा बाघ सडिसकेको अवस्थामा भेटेपछि प्रहरी र वनका कर्मचारीलाई खबर गरिएको कोइरालाले बताउनु भयो ।
प्रहरी र वनका कर्मचारीले उक्त बाघ नरभक्षि भए नभएको अहिले नै यकिन नभएको बताएका छन् । यस अघि बाघले मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका क्षेत्रमा मानिस र घर पालुवा जनवारलाई आक्रमण गरी खाने गरेको थियो ।

प्रतिक्रिया