कृषि क्षेत्रको व्यवसायीकरणमा लागिपरेका छौ: कावासोती नगरप्रमुख भुसाल


कावासोती ,२० माघ , कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले कृषि क्षेत्रको व्यवसायीकरणका लागि नगरपालिका लागिपरेको बताउनु भएको छ । शनिवार विष्णुनगर सिँचाइ योजना जल उपभोक्ता संस्था कावासोती १,२,५ र ६ को प्रथम साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्नु हुँदै नगरप्रमुख भुसालले सो कुरा बताउनु भएको हो । सिँचाइको सुविधा नभएको कृषि क्षेत्रमा सिँचाइको सहज व्यवस्थाका लागि आवश्यक योजना बनाउने उहाँले बताउनु भयो । भूमिगत सिँचाइ सुविधा भएका र खोला क्षेत्रको सिँचाइ भएको सबै स्थानमा अव वैकल्पिक उपाय सोचेर दीर्घकालीन योजना अपनाउनु पर्ने नगरप्रमुख भुसालले जोड दिनु भयो ।
“कावासोती नगरपालिकाको वडा नम्बर १,२,५ र ६ मा दीर्घकालीन सिँचाइ कार्यका लागि वडाहरू वाट योजना सहितको बजेट माग गरे आगामी आर्थिक वर्षमा नगरपालिका बाट आवश्यक बजेट विनियोजन गर्ने छौ”प्रमुख भुसालले बताउनु भयो ।
कृषिमा आत्मनिर्भर हुनका लागि योजनाबद्ध रूपमा कार्यहरू सञ्चालन भइरहेको बताउँदै नगरप्रमुख भुसालले कावासोती ६ आलु खेतीको पकेट क्षेत्र भए जस्तै अन्य वडाहरूलाई पनि कृषिको पहिचानको आधारमा छनौट गरिने बताउनु भयो ।
सोही कार्यक्रममा कावासोती नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष यामबहादुर थापाले सिँचाइको दीर्घकालीन समाधानका लागि पक्की नहर सहितको योजना अगाडि सारिएको बताउनु भयो । करिब तीन करोड को डिपिआर रिपोट प्रदेश हुँदै सङ्घ सरकारलाई बुझाए पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नु भयो ।
साधारण सभामा संस्थाका अध्यक्ष टिकाराम भट्टराईले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष भुना भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कावासोती नगरपालिका वडा नम्बर १,२,५ र ६ मा सिँचाइ गर्ने करिब नौ सय घरधुरी कृषकहरू आबद्ध रहेको संस्थाको प्रथम अधिवेशनले पुनः टिकाराम भट्टराईको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।

प्रतिक्रिया