सातु, सर्वत दान एवं सेवन गरी अक्षय तृतीया मनाइँदै


काठमाडौं – प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।

शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ ।

दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ ।

पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।

यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्यकर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ ।

जौँको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो ।

परशुराम जयन्ती

अक्षय तृतीयाकै दिन जन्मनुभएका परशुराम ऋषिको जन्मजयन्ती पनि आजै मनाइन्छ ।

चिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रुपमा जन्मनुभएको हो ।

ऋषि जमदग्नि र रेणुकाका पुत्र परशुरामले पिता जमदग्निको आदेशमा माता रेणुकाको हत्या गरेको समेत ती ग्रन्थमा व्याख्या गरिएको छ ।

पिता जमदग्निले परशुरामलाई वर माग भनेपछि मातालाई जीवित गरी मारेको कुरा अरुले थाहा नपाऊन् भनी मागेको उल्लेख गरिएको छ ।

अष्टचिरञ्जीवीमध्येका एक परशुरामले पिता जमदग्निको हत्या भएपछि २१ पटक ब्रह्माण्ड घुमी विश्वभरका क्षेत्रीको हत्या गर्नुभएको थियो ।

क्षेत्रीयमा अहङ्कार बढ्न थालेपछि साधुको रक्षा गरी दुर्जनलाई मार्नकै लागि भगवान् विष्णुको छैटौँ अवतारका रूपमा उहाँले जन्म लिनुभएको वर्णन पनि पौराणिक ग्रन्थमा गरिएको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ ।

प्रतिक्रिया