दुम्कीवास–त्रिवेणी सडकले गण्डकी प्रदेको आर्थिक विकासको ढोका खोल्छ : मुख्यमन्त्री पाण्डे
मध्यविन्दु (नवलपरासी), ५ माघ, रासस, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले दुम्कीवास त्रिवेणी सडकखण्ड खुलेसँगै गण्डकी प्रदेशको आर्थिक विकासको ढोका खोल्ने बताउनुभएको छ । शुक्रबार नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाको वगुवन र त्रिवेणी क्षेत्रको स्थलगत भ्रमण पछि मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार स्थापनादेखि नै मार्ग खोल्न प्रयास भए पनि अहिले प्रक्रिया अगाडि बढेको बताउनुभयो ।
“दुम्कीवासदेखि त्रिवेणी जोड्ने बाटो निर्माण प्रकृया सुरु गर्नका लागि आवश्यक समन्वय भई रहेको छ”,उहाँले भन्नु भयो,“बाटो निर्माणका लागि बजेट अभाव हुदैन् प्रदेशले पनि यसका लागि बजेटको प्रबन्ध गर्छ, संघ सरकारले पनि यसका लागि पर्याप्त बजेट छ भनेको छ ।”
गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको त्रिवेणी कोरला सडकको त्रिवेणी दुम्कीवास खण्ड १९ किलोमिटरमध्ये आठ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको छैन् । चितवन राष्ट्रिय निकुन्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ ।
मुख्यमन्त्री पाण्डेले त्रिवेणी भन्सार नाकालाई चलायमान बनाउन आवश्यक तयारी गर्न निर्देशन समेत दिनुभयो । गण्डकी प्रदेशको भारत सँग सीमा जोडिएको एक मात्र नाका त्रिवेणी भएकाले यसलाई पूर्ण रुपमा उपयोग गर्नु पर्ने मुख्यमन्त्री पाण्डेले बताउनु भयो ।
“त्रिवेणी भन्सार कार्यालयलको व्यवस्थापन र सीमा स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि प्रदेश वाट आवश्यक पहल हुने छ”,उहाँले भन्नु भयो,“त्रिवेणी कोरोला मार्ग सञ्चालन गर्ने हाम्रो प्रमुख लक्ष हो ।”
मुख्यमन्त्रीसहित कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जि.सी., विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी सहितको टोलीले दुम्कीवास त्रिवेणी खण्डको बाटो अवलोकन गर्नुभएको थियो । विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले उत्तरमा पाल्पादेखि दक्षिणमा भारतको नाकासम्म फैलिएको विनयी त्रिवेणी गाउँपालिकाको विकासमा प्रदेश सरकारले विशेष ध्यान दिन आग्रह गर्नुभयो ।