नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका जल पक्षी भेटिए
विष्णु गौडेल, मध्यविन्दु (नवलपरासी), ३ माघ, रासस
यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पंक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको बताउनु भयो । “गत वर्षको पक्षी गणनामा ४३ प्रजातिका चरा भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिए”, उहाँले भन्नु भयो,“गत वर्ष भन्दा दुई वटा प्रजाति कम भेटिएका छन् ।”
पक्षी गणनाका क्रममा गत वर्ष देखिएका आठ प्रजातिका चरा यस वर्ष नदेखिएको र गत वर्ष नदेखिएको छ प्रजातिको चरा यस वर्ष देखिएको संयोजक चौधरीले जानकारी दिनु भयो । “गत वर्ष देखिएको सिउरे डुबुल्की चरा, कल हाँस, ध्वाँसे सिङ कुखुरो, सिङ कुखुरो , हलीमुखे, जुरे हुटिट्याउँ, काली जुरे हाँस, स्वेत माछा कलहाँस यस वर्ष भेटिएन्न”,उहाँले भन्नु भयो,“गत वर्ष फेला नपरेका सिन्दुरे हाँस, कैलो टाउके हाँस, अलक चन्द्र राज पुत्रीका, वन सुड सुडीया, ठुलो जल रङ्ग र नारायणी नदीमा नै पहिलो पटक बैकाल गैरी यस वर्ष भेटिएको छ ।”
नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातिका चरा पाइने गरेका छन् । ती मध्ये नारायणी नदी क्षेत्रमा यसवर्ष ४१ प्रजाति फेला परेको जनाइएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)तर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो । सिघ्रौली गोलाघाट हुदैँ अमलटारी, सिघ्रौलीदेखि पिठौली, पिठौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिएको हो । मङ्गोलिया, बर्मा, साइबेरिया, चीन, रुस, थाइल्यान्ड, कोरिया लगायतका देशहरूबाट आगन्तुक चराहरू यो समयमा नारायणी नदी र आसपासको क्षेत्रमा आउने हुदा प्रत्येक वर्ष नारायणी नदीमा चरा गणना गर्ने गरिएको छ ।
गत वर्षको तुलनामा यसवर्ष चराको समग्र सङ्ख्या घटेको प्रारम्भिक तथ्याङ्क आएको संयोजक चौधरीले बताउनु भयो । “यस वर्ष पनि समग्रमा चराको सङ्ख्या घटेको पायौँ”,उहाँले भन्नु भयो,“प्रत्येक वर्ष नेपालमा क्रमिक रुपमा चराको सङ्ख्या घटिरहेको छ ।”
साइबेरियालगायत उत्तरी गोलार्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये सबैभन्दा धेरै सङ्ख्यामा खोया हाँस देखिने गरेकोमा यस वर्ष त्यसमा उल्लेख्य कमि आएको चौधरीले जानकारी दिनुभयो । “यस वर्ष खोया हाँसको सङ्ख्या विगतको भन्दा पचास प्रतिशतले कमि आएको पाएका छौ”,उहाँले भन्नु भयो,“नवलपरासी(बर्दघाट सुस्तापूर्व) तर्फको नारायणी नदीको च्यानलमा पानी सुक्नाले खोया हाँसको सङ्ख्यामा कमि आएको हो, यस क्षेत्र खोया हाँसको प्रमुख वासस्थानको रुपमा रहेको थियो ।”
नारायणी नदीमा बढ्दो प्रदूषणले यहाँ आश्रित चराको सङ्ख्या घट्दै गइरहेको बताइएको छ । नदीमा पाइने आहारा घटेकाले यहाँ आउने चराहरु कम आउन थालेको र वासस्थान परिवर्तन गर्न थालेको चौधरीले बताउनु भयो । “कुनै प्रजातिका चरा गत वर्षभन्दा बढी र कुनै प्रजातिका चरा गत वर्षको तुलनामा न्यून देखिएका छन्”, चौधरीले भन्नु भयो,“यस क्षेत्रमा चखेवा, जलेवा र पानी गौँथली चरा धेरै पाइने गरेका छन् ।”
निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा पनि यस वर्ष कमि देखिएकाले पक्षी संरक्षणका क्षेत्रमा चुनौती बढ्दै गएको चौधरीले बताउनु भयो ।
नारायणीमा पहिलो पटक बैकाल गैरी चरा भेटियो
यस वर्षको चरा गणनका क्रममा विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नारायणी नदीमा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीका अनुसार प्रकृति संरक्षणका लागी अन्तर्राष्ट्रिय संघ (आईयूसीएन) ले समेत खतरामा परेका प्रजातिहरूको रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी चरा पक्षी गणनका क्रममा नारायणी नदी क्षेत्रमा भेटिएको हो ।
“नेपालमा बैकल गैरी चरा ठुला नदी र तालहरूमा रेकर्ड गरिएको भए पनि नारायणी नदी क्षेत्रमा भने पहिलो पटक देखिएको हो”,चौधरीले भन्नु भयो,“उत्तरबाट दक्षिणतर्फ जाने क्रममा आहारा र विश्रामका लागि नारायणी नदीमा आएका हुन् ।”