विनयी त्रिवेणीमा नगर प्रहरी छनौट गरि प्रशिक्षण सुरु
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले नौ जना नगर प्रहरी छनौट गरेको छ । एक जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी हवलदार, र छ जना प्रहरी जवान गरि नौ जना छनौट कार्य पुरा गरि प्रशिक्षण सुरु गरिएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनु भयो ।
नगर प्रहरीको छनौट कार्य सम्पन्न गरि आइतवार देखि प्रशिक्षण कार्य सुरु गरिएको अध्यक्ष गिरीले जानकारी दिनु भयो । प्रशिक्षण कार्यको शुभारम्भ गर्दै अध्यक्ष गिरीले छनौट भएका नगरप्रहरीलाई जिम्मेवारी अनुसार काम कर्तव्य पुरा गर्न निर्देशन दिनु भयो ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले गाउँपालिका भित्रको शान्ति सुरक्षा र कानुन अनुसारको जिम्मेवारी पुरा गर्न आग्रह गर्नु भएको थियो ।
छनौट भएका नगरप्रहरीलाई ईलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरिक्षक पदम थापाले प्रशिक्षण दिनु हुने जनाइएको छ ।
नगर प्रहरीको प्रहरी सहायक निरीक्षकमा विष्णु बहादुर जि.सी., प्रहरी हवलदारमा अर्जुन बहादुर क्षेत्री, भिम बहादुर पुन, प्रहरी जवनामा दिपेन्द्र काउचा, सुरेन्द्र गुरुङ, रमेश बहादुर कुमाल, सन्तोषी विश्वकर्मा, पुजा पुन र दुर्गा बहादुर ढेंगा छनौट हुनु भएको थियो ।
नगर प्रहरीको काम कर्तव्य र अधिकार क्षेत्रमा गाउँपालिका भित्रको सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने, गाउँमा हुने सभा,समारोह, परम्परा तथा जत्रा, चाडपर्वको सुरक्षा व्यवस्थापन गर्ने, गाउँको बजार तथा पार्किङ स्थलको भरपर्दो व्यवस्थापन गर्ने, गाउँको सरसफाइ सम्बन्धी मापदण्डको कार्यान्वयन गर्ने, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णय कार्यान्वयन गर्ने, सार्वजनिक, ऐलानी र पर्तीजग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने, विपद् व्यवस्थापन अन्तर्गत खोजी, उद्दार, राहत तथा पुनस्थापना सम्बन्धी कार्य गर्ने, अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड नियन्त्रण गर्ने, छाडा पशु चौपायाको नियन्त्रण गर्ने, अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने, गाउँ कार्यपालिका तथा वडा कार्यालयको सुरक्षार्थ आवश्यक व्यवस्था मिलाउने, गाउँपालिका क्षेत्रमा घुम्न आउने पर्यटकको सुरक्षाको लागि आवश्यक व्यवस्था गर्ने र प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य कार्य गर्ने रहेका छन् ।