नारायणगढ–बुटवल सडक खण्डमा खानेपानी पाइपलाइन विस्तारको काममा तीव्रता
कावासोती । राष्ट्रिय गौरवको रूपमा रहेको नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत खानेपानी पाइपलाइन विस्तारको कामले तीव्रता पाएको छ ।
सडकखण्ड विस्तारको क्रममा जिल्लाको गैँडाकोटदेखि दुम्किबाससम्म २८ किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्ने भए पनि अहिले २१ किलोमिटर खानेपानीको पाइप विस्तारको काम भएको जिल्ला खानेपानी उपभोक्ता महासङ्घका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो ।
खानेपानी पाइप विस्तार कार्यले तीव्रता पाएको छ, तर जिल्लामा आवश्यक भल्व चेम्बरको कार्यमा भने प्रगति नभएको अध्यक्ष भुसालले बताउनुभयो । पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकको गैँडाकोटदेखि दाइउन्नेसम्म ६४.४२५ किलोमिटर सडकको पूर्वी भागलाई खण्ड ‘क’ र दाइउन्नेदेखि बुटवलसम्मको ४८.५३५ किलोमिटरको पश्चिम भागलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ । विस्तार भइरहेको सडकको कुल लम्बाइ एकसय १५ किलोमिटर छ ।
नारायणगढ–बुटवल सडकको हालसम्म खण्ड ‘क’ मा भौतिक प्रगति ४३.०४ प्रतिशत (एकतर्फी १७ किलोमिटर कालोपत्रे) र पश्चिमखण्डमा ३८.५ प्रतिशत (एकतर्फी १९.५ किलोमिटर कालोपत्रे) प्रगति भएको आयोजनाले जनाएको छ । खण्ड ‘क’ मा अहिले कावासोती क्षेत्रमा कालोपत्रेको तयारी गरिएको छ ।
यस क्षेत्रमा ६ किलोमिटर कालोपत्रे हुनेछ । पुस महिनाभरिमा १० किलोमिटर बाटो कालोपत्रे गर्ने योजना रहेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिका प्रोजेक्ट म्यानेजर राकेश झाले बताउनुभयो ।
सुरुमा ‘इआईए’ गर्दा ११५ किलोमिटर क्षेत्रभित्र पर्ने ३६ हजार दुईसय २५ रुख कटान गरिसकिएको छ । त्यस्तै, आयोजनाको पूर्वीखण्डमा अहिलेसम्म ५० प्रतिशत विद्युतका पोल सार्ने काम सकिएको छ । सडकको दुईतिर रहेका तीन हजार विद्युतको पोल सार्ने काम भएको छ । सातसय ३७ बाँकी रहेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिका प्रोजेक्ट म्यानेजर झाले बताउनुभयो ।
यस सडकमा २१५ वटा बक्स कल्भर्टमा १५५ वटा निर्माण कार्य सकिएको छ । २२ मेजर पुलमा १९ वटाको निर्माण कार्य सकिएको उहाँले बताउनुभयो । विगतमा पोल सार्ने, रुख कटान, खानेपानी, गिटी बालुवालगायतका समस्या भए पनि अहिले ती सबै समस्या समाधान भएको उहाँको भनाइ छ ।
चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम सकिएको पाँच वर्षसम्म बाटो मर्मतको काम स्वयं निर्माण कम्पनीले गर्नुपर्ने सम्झौतामा उल्लेख छ । कम्पनीले बाँकी ५ प्रतिशत निर्माणको कामलाई समेत त्यही मर्मत सम्भार गर्नुपर्ने अवधिमा राखेको छ । सडक बस्ती क्षेत्रमा ६ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्ने पहाडमा तीन लेन विस्तार गर्नेगरी एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा कूल १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको विस्तार सुरु गरिएको हो ।