बस चलाउँदै गर्दा बेहोस भएका चालकको मृत्यु
नवलपरासी, २६ कात्तिक,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा बस चलाउँदै गर्दा अचानक बेहोस भएका बस चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु २ ख ४०७२ नम्बरको बसका चालक बेहोस भए पछि उनको उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालक लाल बहादुर गाहा मगर बस चलाइरहेको अवस्थामा आफूलाई असहज भए पछि बस रोकेर सहचालकलाई चलाउन दिए लगत्तै उनी बसमै बेहोस भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले बताउनु भयो ।
पाल्पाको रम्भादेवी गाउँपालिका–५ बस्ने ४३ बर्षीय गाहा मगर अचानक बसमा बेहोस भए पछि देवचुली नगर अस्पताल ल्याइएको र उहाँको उपचारको क्रममा निधन भएका प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । मृतक चालक उच्च रक्तचापका बिरामी रहेको र त्यसको औषधि समेत खाने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।