आज तेस्रो नवलपुर बालिका सम्मेलन हुदैँ


विष्णुप्रसाद गौडेल, नवलपरासी, ३० असोज,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिकामा आज तेस्रो नवलपुर बालिका सम्मेलन सुरु हुदैँ छ । ‘बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नारका साथ तेस्रो नवलपुर बालिका सम्मेलन–२०८० आयोजना गरिएको हो ।
बालिका तथा किशोरीहरूको समग्र विकासमा स्थानीय सरकार र सामाजिक क्षेत्रमा कार्यरत सङ्घ संस्थालाई उनीहरूको भूमिका र दायित्व बोध गराउन सम्मेलन आयोजना गरिएको नवलपुर किशोरी सञ्जालका अध्यक्ष बिद्या ढुङ्गानाले बताउनु भयो ।
“नवलपरासी(बर्दघाट सुस्तापूर्व) नवलपुर जिल्ला सहित, चितवन, रूपन्देही र कपिलवस्तुका किशोरी एवं सरोकारवाला एकै स्थानमा बसि किशोरीका सवाल, राम्रा अभ्यास, सुझावहरूको सङ्कलन र छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गरेका हौ”,उहाँले भन्नु भयो ।
नेपालका बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान पु¥याउन सम्मेलनमा स्थानीय तह, जिल्ला, प्रदेश र राष्ट्रियस्तरको बहुक्षेत्रीय सरोकारवालाहरू विच छलफल चलाइने भएको छ । सम्मेलनमा जिल्लका आठैवटा स्थानीय तह वाट १० वर्षदेखि माथि र १९ वर्ष उमेर मुनिका बालिका तथा किशोरी प्रतिनिधिहरूको सहभागितामा विषयगत छलफल सञ्चालन गरिने अध्यक्ष ढुङ्गानाले बताउनु भयो ।
“बालिकामा यौन तथा प्रजनन स्वास्थ्यको अधिकारको अवस्था के छ, उनीहरूले के चुनौती भोगिरहेका छन्, बालिकाका लागि प्रदेश र स्थानीय सरकारले के काम गरिरहेको छ भनेर सम्मेलनमा छलफल गर्ने छौ”, उहाँले भन्नुभयो ।
सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै नेपालको बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान गर्न सम्मेलन आयोजना गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनु भयो ।
“सन् २०३० सम्ममा बाल विवाहको अन्त्य गर्ने दिगो विकासको लक्ष्य छ, तर अहिलेको अवस्थाले त्यो सम्भव छैन”,उहाँले भन्नु भयो,“त्यसका लागि प्रभावकारी रणनीति र घोषण पत्र बनाउन यो सम्मेलन जुट्ने छ ।”
नवलपुर किशोरी सञ्जाल र जागृति बाल तथा युवा सरोकार नेपालले आयोजना गरेको सम्मेलनमा जिल्लाका आठ वटै स्थानीय तह सहित विभिन्न सरोकारवाला संघ सस्थाहरूले सहकार्य गरेका छन् ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा प्रथम बालिका सम्मेलन वि.सं २०७३ र दोस्रो बालिका सम्मेलन २०७४ सालमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया