भत्किएको नारायणगढ–बुटवल सडकका कारण नवलपुरका होटेल व्यवसायमा समस्या


विष्णु गौडेल, २१ असोज, रासस

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–८ चोरमारा बजारमा सुवास ज्ञवालीले होटेल सञ्चालन गर्न थालेको १७ वर्षभन्दा बढी भयो । पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको उहाँको होटेलमा कुनै समय गाह्रकलाई खाना, खाना दिन फुर्सदै हुदैन थियो तर अहिले ग्राहक कुर्नुपर्ने अवस्था छ । कारण हो भत्किएको नारायणगढ–बुटवल सडकखण्ड ।

ज्ञवालीले भन्नुभयो, “विगतमा दिनमै रु ७०/८० हजार सम्मको व्यापार हुन्थ्यो तर अहिले रु १२–१५ हजारसम्मको कारोबार हुन पनि गाह्रो भएको छ ।कोही आउँछन् कि भनेर हेर्नुपर्छ । बाटो यस्तो धूलो छ । मान्छेलाई पनि कतिबेला गन्तव्यमा पुगौँ भन्ने हतार हुन्छ ।”

गैँडाकोट नगरपालिका–१६का होटेल व्यवसायी नारायणप्रसाद गौतमको गुनासो पनि उस्तै थियो । छ वर्ष विदेश बसेर नेपाल फर्किनुभएका उहाँले स्वदेशमै उद्यम गर्ने सोचले होटेल सञ्चालन गर्नुभएको थियो तर अहिले अवस्था सोचेजस्तो भएन।

“रु १२ लाखबाट सुरु गरेको व्यवसायमा अहिले लगानी उठाउन पनि मुस्किल परेको छ”,व्यवसयी गौतमले भन्नुभयो,“यो सडकको अवस्थासँगसँगै हरेक दिन बढ्ने महङ्गीले पनि थप समस्या नित्याएको छ ।”

नारायणगढ–बुटवल सडकखण्ड जहाँ दिनहुँ हजारौँको सङ्ख्यामा सानादेखि ठूला सवारीसाधन ओहोरदोहोर गर्छन् । छ लेनको सडक बनाउन सडक भत्काएको चार वर्ष पूरा भयो । सम्झौताअनुरूप समयमै सडक नबन्दा धुलोले यात्रुलाई मात्र होइन, सडक नजिकै रहेका होटेल व्यवसायलाई समेत असर गरेको छ । कोरोनाका कारण सुस्ताएका जिल्लाको होटेल व्यवसाय, अहिले पूर्व–पश्चिम राजमार्गका कारण झन् सुस्ताएका छन् ।