सुस्ताका बालबालिका आफ्नै गाउँमा विद्यालय शिक्षा पुरा गर्न पाउँदैन्न
नवलपरासी,भदौ,२४,रासस
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुस्तामा कक्षा ८ भन्दा माथि अध्ययन गर्नका लागि विद्यालय नहुदा पढाइ छाड्ने क्रम बढेको छ ।
सुस्ता गाउँपालिका ५ सुस्ता गाउँमा जनता दलित आधारभूत विद्यालयमा कक्षा ८ सम्म मात्र पठनपाठन हुने हुदाँ त्यसपछिको अध्ययन निरन्तरताका लागि विद्यार्थीहरुलाई समस्या हुने गरेको छ । तीन तिर बाट नारायणी नदी र एक तर्फ भारतले घेरिएको सुस्ता गाउँमा कक्षा ८ भन्दा माथि अध्ययन गर्नका लागि नेपाल तर्फ आउन नारायणी नदीमा पुल नहुँदा विद्यार्थीहरु पठन पाठन वाट वन्चित हुनु परेको सुस्ता गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष प्रभुनाथ अहिरले बताउनु भयो ।
“यहाँका बालबालिका गाँउमा रहेको विद्यालयमा कक्षा ८ सम्म मात्रै अध्ययन गर्दछन् त्यस पछिको पढाइ गाउँमा नभएकाले अधिकांश बालबालिका कक्षा ८ उत्तिर्ण गरेपछि विद्यालय जादैनन्”उहाँले भन्नु भयो “आठ कक्षा भन्दा माथि अध्ययन गर्नका लागी नेपाल तर्फ आउन नारायणी नदिमा पुल नहुदा कठिन छ । ”
गाँउमा पढ्ने अवस्था नहुदा कक्षा बढ्दै जादा बालबालिकाले पढाई पनि छाड्दै जानु पर्ने अवस्था रहेको छ । जसका कारण कक्षा १ मा भर्नादर उत्साहजनक भएपनि कक्षा ८ सम्म आईपुग्दा विद्यार्थी सङख्या ह्वात्तै घट्ने गरेको पाइएको छ ।
जनता दलित आधारभुत विद्यालयमा कक्षा ८ सम्म हाल तीन सय ६० जना विद्यार्थीले अध्ययन गरेको विद्यालयका सहायक प्रधानअध्यापक अरन्जेव खानले बताउनु भयो ।
“विद्यालयमा विद्यार्थी भर्नादर पनि उत्साहजन नै छ”उहाँले भन्नु भयो“ भौगोलिक विकटता कारण कक्षा आठ उत्तिर्ण गरेपछि अधिकांश बालबालिकाले पढाई छाड्छन् ।”
जम्मा ५ प्रतिशत बालबालिकाले मात्रै विभिन्न ठाँउमा गई कक्षा आठ पछिको पठनपाठनलाई निरन्तरता दिने गरेको उहाँले बताउनु भयो ।
“यहाँका अभिभावकको आर्थिक अवस्था पनि कमजोर छ, बाहिर गएर पढ्ने अवस्था छैन् गाँउमै आठ कक्षा भन्दा माथि पढ्न नपाउने भएकाले मुस्किलले ५ प्रतिशत बालबालिकाले मात्रै उच्च शिक्षा सम्म अध्ययन गर्छन्”उहाँले भन्नु भयो ।
अहिले कक्षा आठ सम्म संञ्चालन भईरहेको उक्त विधालयमा अहिले पनि शिक्षकको अभाव रहेको छ ।
केहि अभिभावकले बालबालिकालाई सिमावर्ती भारतिय बजारका विद्यालयमा पढाउदै आएका छन् । छोराछोरीलाई ईच्छा हुदाहुदैँ पनि पढाउन नपाएको भन्दै सुस्तामै कम्तिमा कक्षा १२ सम्मको पठनपाठन हुनुपर्ने स्थानीय मुन्सि हरिजनले बताउनु भयो ।
“यहाँ एसइइ समेत दिन नपाउने अवस्था छ, यदि राज्य छ भने कम्तिमा १२ कक्षा सम्म सुस्ता गाँउमै पढ्ने व्यवस्था मिलाउनु पर्छ”उहाँले भन्नु भयो ।
अभिभावकले कक्षा थप गरी बालबालिकाले पढ्न पाउने अधिकारको सुनिश्चित गर्न माग गरिरहदा सुस्ता गाँउपालिकाका शिक्षा शाखा प्रमुख चन्द्र बहादुर ठाडा मगरले सुस्ता गाउँमा कक्षा थप सम्बन्धमा कुनै योजना नभएको बताउनु भयो । “त्यहाँ विद्यार्थीहरु माथिल्ला कक्षामा पुगेपछि विद्यालयनै आउदैनन्, त्यसैले तत्कालै कक्षा थप गर्ने योजना छैन्”उहाँले भन्नु भयो“ कक्षा आठ सम्म संञ्चालनका लागी पनि शिक्षक अभावमा धौ धौ भईरहेको छ ।”
विद्यालयमा चार जना शिक्षकको दरबन्दी रहेको छ भने दुई जना गाँउपालिकाले थप गरी आठ कक्षा सम्म सञ्चालन गरिदै आएको छ ।
नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुलको काम पुरा भए सुस्ता गाँउका बालबालिका नारायणी वारी आएर पनि पठनपाठन गर्न सक्ने स्थानीयले बताएका छन् । तर बालबालिकाले बिचैमा पढाई छाड्ने प्रवृत्तिको अन्त्य गर्न सुस्ता गाँउमै रहेको विद्यालयमा कक्षा थप भए सहज हुने स्थानीयको भनाई छ ।