गैँडाकोटको बसेनी गाउँ : पहिले पाखो बारी, अहिले सुन्तलाको घारी


विष्णुप्रसाद गौडेल,मध्यविन्दु(नवलपरासी),५ भदौ,
सुन्तला बगैँचाले नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट–१८ बसेनी गाउँको मुहार नै फेरिएको छ । बसेनी गाउँमा व्यवसायीक रुपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभारा देखिएको छ । भिरालो र नाङ्गो जमिन अहिले सुन्तालाको बगैँचाले हरियाली मात्रै भएको छैन भदौको दोस्रा सातासम्म विक्रिका लागि सुन्तला तयार समेत हुदैँ छ ।
६४ वर्षिय गुप्तप्रसाद रेग्मीको सुन्तला बगैँचामा उन्सु प्रजातीको सुन्तला बिक्रीको लागि तयार हुदैँ छ । टिका रत्न टुल्की कृषि फर्म दर्ता गरी रेग्मीले वि.सं.२०७५ बाट व्यवासायीक रुपमा सुन्तलाजातका फलफुलको खेती लगाउदै आउनुभएको छ । “१४ रोपनीबाट शुरु गर्नुभएको सुन्तलाजातका फलफुलको व्यवसायीक खेतीलाई अहिले ८२ रोपनीमा बिस्तार गरेका छौ”उहाँले भन्नु भयो ।


एभोकाडो लगाउने योजना सहित बसेनीमा जग्गा खरिद गरेपनि सुनकागती–१ लगाउन धेरैजनाले सल्लाह सुझाव दिएपछि शुरुमा कागती बाट व्यवयसायीक रुपमा सुन्तलाजातका फलफूलको खेती शुरु गरेको रेग्मीले बताउनुभयो । “सुन्तला बगैँचामा उन्सु जातका सहित १५ सय बोट सुन्तला, १२ सय बोट सुनकागती–१, तीन सय बोट निबुवा, किन्यु, जुनार, लप्सी, टिमुर, स्याउ, आप, लिची लगाएका फलफूलहरु रहेका छन्” उहाँले भन्नु भयो “यो सिजनमा सुन्ताला र सुनकागती–१ को बिक्रीबाट १० लाख आम्दानी हुन्छ होला, गत वर्ष भन्दा अहिले कागती र सुन्तलाको उत्पादन राम्रो छ ।”
सुन्तला बगैँचामा अहिले भदौ दोस्रो हप्ता पाक्ने उन्सु जातको सुन्तला सहित असोजको अन्तिम हप्तामा पाक्ने नागपुरे जातको सुन्तला, मंसिरको १५ देखि पुस सम्मको लागि स्थानीय खोको जातको सुन्तला र फागुनमा किन्यो जातको सुन्तला बिक्रीको लागि तयार हुने रेग्मीले बताउनु भयो ।
“जग्गा खरिद देखि व्यवस्थापन सबैमा गरी अहिले सम्म दुई करोड पचास लाख लगानी गरिसकेको छु” उहाँले भन्नु भयो “अब बल्ल राम्रो संग उत्पादन दिने समय भयो, अहिले बँगैचामा दुई देखि पाँच वर्ष सम्मका बिरुवाहरु हुर्किराखेका छन् ।”
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सिँचाइ, मेसेनरी औजार र बिरुवामा ५० प्रतिशत अनुदान संगै फलफूल लगाउने आवश्यक ज्ञान, सिप, रोग किराका बारेमा सहजै सल्लाह सुझाव पाउदा व्यवसायीक खेतीलाई बढाउन र पेशामा टिक्नको लागि उर्जा मिलेको उहाँले बताउनु भयो ।

पहाडी गाउँमा व्यवसायीक कृषि फर्म सञ्चान भए संगै स्थानीयले रोजगारी समेत पएका छन् । “पन्ध्र दिनको फरकमा दुई सय कामदार लगाएर बोटबिरुवा गोडमेल गर्नु पर्छ”उहाँले भन्नु भयो “कामदार प्रयोग गर्दा सबै यहिँ गाउँका दाजुभाई दिदीबहिनीहरुलाई बोलाउने गरेका छौ ।”
कोदो र मकै मात्रै लगाएर जीविको चलाउदै आएका यहाँका स्थानीयहरुलाई पहिले गाउँमा सुन्ताला खेती हुन्छ भन्नेमा विश्वास नै लागेको थिएन ।“रेग्मी सरकोे टिका रत्न टुल्की कृषि फर्ममा काम गर्न जादा पनि यस्तो ठाउँमा किन लगानी गरेको होला भन्ने लागेको थियो”स्थानीय युवबहादुर सारुले भन्नु भयो ।
बसेनीमा सुन्तलाको बोट सप्रिदै गयो, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आवश्यक सल्लाह सुझाव, तालिम, अनुदानहरु प्राप्त भएपछि अहिले गाउँ नै सुन्तलाको बगैँचा बनेको सारुले बताउनु भयो । यहाँको दोडे टोलका किसानहरु पनि मकै कोदो छोडेर सुन्तला लगाउन थालेका छन ।


“३२ रोपनी भन्दा बढिमा छ सय सुन्तलाको बोट लगाएको छु” सारुले भन्नुभयो “पहिले कसैले विश्वास गरेका थिएनन् अहिले सुन्तलाको बोट हुर्किएको देखेर म आफै दंग परिरहेको छु ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अन्य जिल्लामा सुन्तालको बगैँचा अवलोकनमा जादा यहिँ माटोमा मिहिनेत गर्ने उर्जा मिलेको सारुले बताउनु भयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा वि.सं.२०७५ बाट सुन्तलाजातका फलफूल जोनको कार्यक्रम शुरुवात गरेको हो । शुरुवातको समयमा तीन सय ३१ हेक्टरमा हुदँै आएको खेती परियोजना सुरु भएपछि अहिले आठ सय १८ हेक्टर क्षेत्रमा बिस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । “जिल्लामा परियोजनाले सुन्तलाको पुरानो बगैँचा व्यवस्थापन, नयाँ निर्माण, नर्सरी निर्माण सहित किसानलाई प्रविधि संग जोड्दै उत्पादन क्षेत्र विस्तारमा काम गर्दै आएको छ”उहाँले भन्नुभयो ।
जिल्लामा सुन्तालाको सबैभन्दा धेरै बगैँचा भएको क्षेत्र नै गैडाकोट १८ रहेको शर्माले बताउनु भयो । “यहाँ किसानहरुले करिब १५ हजार सुन्तालका बोटहरु लगाएका छन्”उहाँले भन्नु भयो ।
जिल्लाको वुलिङ्गटार, बौदिकाली गाउँपालिका, गैडाकोट १८, देवचुली ६, हुप्सेकोट ५ र मध्यविन्दु ८ र १५ मा सुन्तलाजात फलफुल जोन कार्यक्रम संचालन गरिएको छ । कृषक समुह र उद्यमी गरेर पाँच सय भन्दा बढि किसान यसमा आवद्ध भएको परियोजनाले जनाएको छ ।रासस

 

प्रतिक्रिया