नारायणीमा एक युवक डुबेर बेपत्ता
मध्यविन्दु(नवलपरासी),३ भदौ,
नारायणी नदीमा माछा मार्न गएका एक युवक डुबेर बेपत्ता भएका छन् । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती स्थित नारायणी नदीमा माछा मार्न गएका देवचुली नगरपालिका–११ का २० वर्षीय मंगलसिंह पुलामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनु भयो ।
शनिबार दिउँसो साढे १२ बजे बेपत्ता भएका पुलामीको खोजिकार्य जारी रहेको तिवारीले बताउनु भयो । साथीसँग माछा मार्न गएका पुलामी बेपत्ता भएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
“उनीसँगै डुबेका अर्का एक युवकको तत्कालै स्थानीय माझीले उद्धार गरेका थिए”उहाँले भन्नु भयो “स्थानीयको सहयोगमा आज बिहान देखि पुलामीको खोजी कार्य जारी राखेका छौ ।”
लोकाह खोला र नारायणीको दोभानमा माछा मार्न नदीमा जाल फाल्दा लतारिएर रहमा डुबेपछि बेपत्ता भएको प्रतक्षदर्शिले बताएका छन् । खोजी कार्यमा हात्ती समेत परिचालन गरिएको छ ।
जिल्लामा गत जेठयता खोला र नदीमा बेपत्ता हुनेको संख्या छ जना पुगेको प्रहरी उपरीक्षक तिवारीले बताउनु भयो ।