जिल्ला प्रशासन कार्यालयमा ‘टाइम कार्ड’ लागू


मध्यविन्दु,२४ चैत,
जिल्ला प्रशासन कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा ‘टाइम कार्ड’ लागु गरिएको छ । शुक्रबारबाट जिल्ला प्रशासन कार्यालयले दिने सवै प्रकारका सेवामा टाइम कार्ड लागु गरिएको नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनु भयो । उहाँका अनुसार राष्ट्रिय परिचय पत्र, राहदानी, नागरिकता र प्रतिलिपि शाखा, मुद्दा शाखा लगायतका शाखामा ‘टाइम कार्ड’ लागू गरिएको छ ।
कुन सेवालाई कति सयमभित्र दिइसक्ने भनेर कागजातका आधारमा ‘टाइम कार्ड’ लागु गरिएको छ । कागजात पुगेको वा नपुगेको चेक गरेर टाइम कार्ड दिइने प्रजिअ लम्सालले बताउनु भयो । “आवश्यक कागजात पुगेको अवस्थामा १ घण्टाभित्र नागरिकता,नाबालकको प्रमाणपत्र १ घण्टामा र राष्ट्रिय परिचयपत्रका लागि पनि १ घण्टाभित्र कार्य सक्ने व्यवस्था गरेका छौ” उहाँले भन्नु भयो ।
सिफारिस सम्बन्धी काम १ घण्टाभित्र दिने गरी समय निर्धारण गरिएको छ । मुद्दाको पेशी र तारेख ३० मिनेट भित्र सक्ने नीति लागु गरिएको छ ।
त्यस्तै ६५ वर्षामाथिका ज्येष्ठ नागरिक, अशक्त नागरिक र दुधे बच्चा सहितको महिलालाई लाइनमा नराख्ने निर्णय गरिएको छ । ७५ वर्षमाथिका नागरिकलाई सहयोगी लगाएर सेवा दिन सुरु गरिएको छ ।
“राष्ट्रिय परिचयपत्रका लागि प्रतिघण्टा १२ जना, राहदानीमा र नागरिकता एवं प्रतिलिपी सेवाग्राहीको कागजपत्रका आधारमा एक घण्टाभित्र उपलब्ध गराउने गरी ‘टाइम कार्ड’ दिइने छ”प्रजिअ लम्सालले भन्नु भयो “सेवा लिन आएका सेवाग्राहीहरुले टाइम कार्ड लागू भएपछि तोकिएको समयमा सेवा पाउनु हुने छ ।”
नयाँ बनेको जिल्ला नवलपरासी(बर्दघाट सुस्तापूर्व)को जिल्ला प्रशासन कार्यालय अहिले भाडाको घरवाट सेवा सञ्चालन गरिरहेको छ । ‘टाइम कार्ड’को व्यवस्था परिक्षणको रुपमा लागु गरिएको र आवश्यताका आधारमा परिमार्जन गरिने प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनु भयो ।

प्रतिक्रिया