पेट्रोलियम पदार्थको मूल्य घट्यो


काठमाडौं, चैत २०-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल, मट्टीतेल र हवाई इन्धन आन्तरिकको प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको निगमले जानकारी दिएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १७५, डिजेल र मट्टीतेलको प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ ।बढेको मूल्य आज रातिदेखि लागू हुनेछ । केही समयअघि भारतबाट इन्धनको मूल्य घटेर आएको थियो ।

पछिल्लो समय भारतबाट मूल्य घटेर आएको  र इन्धनको उच्च मूल्यका कारण अर्थतन्त्र नै शिथिल बन्न थालेपछि आर्थिक चापका बाबजुद निगम मूल्य कटौती गर्ने अवस्थामा पुगेको निगमका कार्यकारी निर्देशक थानीले दाबी गरे ।

शनिबार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर इन्धनको नयाँ मूल्य प्राप्त भएको थियो । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डरमा ३० रुपैयाँ, पेट्रोल लिटरमा १ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको थियो ।

घटेको नयाँ मूल्यपछि निगमलाई १५ दिनमा एक अर्ब ५० करोड रुपैयाँ बढी नाफा हुने प्रक्षेपण गरेको थियो । अघिल्लो पटक पनि घटेर नयाँ मूल्य आउँदा पनि मूल्य समायोजन नगरेको निगमले यस पटक भने घटेर प्राप्त भएको नयाँ मूल्यभन्दा पनि बढीले उपभोक्ता मूल्य समायोजन गरेको हो ।

बितेको १५ दिनमा निगमलाई ५८ करोड रुपैयाँ बढी नाफा थियो । डिजेल मूल्यलाई लिएर सरकारको पूँजीगत खर्चसमेत हुन नसकेको गुनासो निजी क्षेत्रले गरिरहेका थिए । निगमले भने गत वर्षको घाटाको बक्यौता र ऋणका कारण अझै निगम वित्तीय दायित्वले थिचिएको दाबी गरिरहेको थियो ।

निगमका कार्यकारी निर्देशक थानीकाअनुसार निगमलाई अझै सरकारको ६ अर्ब ५० करोड ऋण र आइओसीको ८ अर्ब रुपैयाँ बक्यौता बाँकी छ । तर, अर्थतन्त्र चलायमान गराउन र महँगी नियन्त्रणका लागि डिजेलको मूल्य कटौती गरेर राहत दिने प्रधानमन्त्रीको चाहना बमोजिम मूल्य घटाउने निर्णयमा निगम पुगेको हो ।

प्रतिक्रिया