सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि


मध्यविन्दु,२५ पुस,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिक रूपमा बढ्दो छ । दुर्घटनामा कमी आए पनि मृत्युदर भने बढेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लामा ५२ दुर्घटना हुँदा १३७ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय नवलपुरको तथ्याङ्कमा देखिन्छ । यहीँ अवधिमा दुर्घटनाबाट ८२ गम्भीर र १३९ सामान्य घाइते भएका छन् । गत आर्थिक वर्ष २०७८÷७९ मा ९५ दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको थियो । चालु आर्थिक वर्ष २०७९÷०८० को पाँच महिनामा ३६ सवारी दुर्घटनामा १८ जनाको मृत्यु भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रदिप थापाले बताउनु भयो ।
“मादक पर्दाथ सेवन गरेर सवारी चलाउँदा, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, तीव्रगतिमा सवारी चलाउँदा, सडक चौपाया, क्षमताभन्दा बढी यात्रु बोकेर सवारी चलाउँदा, ट्राफिक नियम उल्लङ्घन, बढदो सवारी चापका कारण दुर्घटना हुने र दुर्घटनाबाट मानिसको मृत्युदर बढेको हो” उहाँले भन्नु भयो ।
दुर्घटनाको अनुसन्धान गर्दा जिल्लामा भएका अधिकांश सवारी दुर्घटनामा चालककै बढी गल्तीका कारण हुने गरेको प्रहरीले जनाएको छ । यसका कारण वार्षिक धेरै मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ । जिल्ला सबैभन्दा बढी दुर्घटना मोटरसाइकल, साना चारपाङ्ग्रे सवारीसाधन, यात्रुवाहक बस र टिपर रहेका छन् । यस बाहेक अटो, रिक्सा, साइकलयात्री पनि दुर्घटनामा परेर ज्यान गुमाउनुपरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया