होमस्टेले फेरिएको जीवन
नवलपरासी पूर्व, मध्यविन्दु, (रासस)
कावासोती नगरपालिका १५ बाघखोरमा रहेको हमार गाउँ दिगो पर्यटन सहकारीमा पुग्दा कम्प्युटरमा बचतको डाटा राख्न व्यस्त थिईन धनमायाँ महत्तो । विहान १० देखि साझको ४ बजेसम्म सहकारीको व्यवस्थापकको भुमिकामा व्यस्त हुने धनमायाँ, बाघखोरका महिलाहरुको नेतृत्व गछिन । अमलटारी मध्यवर्ती सामुदायीक होमस्टेमा ३१ घर संचालनमा छन, जसमध्येको ६ नम्बर होमस्टे उनको हो । साँझ र विहानको समयमा पाहुनालाई खाना खुवाउन र स्वागतमा व्यस्त हुने उनलार्ई काममा उनका श्रीमानले सहयोग गर्दछन ।
करिब १३ वर्ष अघि नवलपुरकै वेल्डिहाबाट विवाह गरेर बाघखोरमा आएकी धनमायाँलाई पहिले त्यस गाउँमा बस्नै मन लाग्दैनथ्यो । ४ वर्ष मलेसिया बसेर नेपाल फर्किएका बेला धनमायांसंग विवाह बन्धनमा वाँधिएका श्रीमानले विवाहको एक महिनामा उनलाई घरमै छोडेर धन कमाउन परदेश लागे । नयाँ ठाउँ, नयाँ परिवेशमा उनलाई दिनहरु विताउन निकै कठिन हुने गर्दथ्यो । ठूलो परिवारमा हुर्किएकी छोरी भएपनि कहिल्यै मेलापात नहिडेकी धनमायांलाई खेतवारीमा काम गर्नको लागि बानी पार्न निकै समय लाग्यो । १३ वर्ष अघिका ती दिन सम्झदा उनलाई त्यस्तो दुःख नि गरेको रहेछु, सायद दुःख पछिको सुख भनेको यहि होला भन्ने महसुस हुन्छ ।
विहान ९ बजेदेखि साँझ ७ बजे सम्म एक घण्टाको २५ रुपौयाँको दरमा मेलामा हिडेका दिनहरुले झस्काईरहन्छ उनलाई आज भोली । घरमा जेठि बुहारी भएको र देवरहरु पढदै गरेको हुँदा घरखर्च जुटाउन निकै कठिन दिनलाई सम्झदै उनले भनिन “बाघखोर गाउँका सबै पुरुषहरु कमाउन विदेश जाने र महिलाहरु मेलापात गरेर घरखर्च टार्नुपर्ने अवस्था थियो ।”
अगाडि भएको कम्प्युटरमा टाईप गर्दै धनमायांले थपिन “मेला जानु र जंगल गएर दाउरा ल्याएर बेच्नु वा प्रयोग गर्नुको यहाँ अरु विकल्प केहि थिएन ।” स्नातक पास गरेर विवाह गरेपनि मेला नगई हुदैनथ्यो, गाउँको परिवेश त्यस्तै जताततै फोहोर, बाटो राम्रो थिएन । जब होमस्टेको शुरुवात गरिएपछि सबैतिर विस्तारै विकास भयो । २०७० साल देखि गाउँमा होमस्टे संचालनमा आएपछि उनको जिवनले पनि फड्को मार्यो ।
धनमायाँं भन्छिन “ अहिले घरमा पेय पदार्थको डिलर राखेकी छु श्रीमानले पसल हेर्नुहुन्छ म दिनभर सहकारीमा व्यस्त हुन्छु । जब होमस्टेमा पाहुना आउँछन विहान र साझको समयमा परिवार मिलेर काम गर्छौ ।” गाउँमा भएका किराना पसल देखि त्यहा भएको ३१ वटा होमस्टेहरुमा पर्यटकहरुलाई आवश्यक पेय पदार्थ(जुसहरु) उनको डिलरबाट नै विक्रि हुने गर्दछ । होमस्टे र सहकारीबाट मात्रै मासिक ६० हजार कमाई हुने उनले बताईन ।
होमस्टे संचालन गरेपछि प्रत्यक्ष व्यत्तित्व र आर्थिक विकासमा परिवर्तन आएको उनले बताइन । धनमयां महत्तो एक उदाहरण पात्र मात्रै हुन । यस गाउँमा भएको ३१ घर होमस्टेका सबै महिलाहरुको व्यत्तित्वमा विकास भएको स्वयम महिलाहरु नै बताउँछन । गाउँमा होमस्टेमा महिलाहरु आवद्ध भएछि परदेशमा भएका पुरुषहरु घर फर्किएका छन । थारु समुदायको बाक्लो बस्ती रहेको नवलपुरको कावासोती–१५ का थारु महिलाहरु कोहि हामस्टेमा त कोहि होटल व्यवसायमा आवद्ध छन ।
वन र वन्यजन्तुको संरक्षण गर्दै पर्यटकहरुलाई आकर्षण गर्ने केन्द्रको रुपमा मात्र होइन यस होमस्टेले थारु सस्कृतिलाई पनि जोगाउदै आएको छ । जुन थारु महिलाको आर्थिक रुपान्तरणको आधार बनेको छ । गाउँमा होमस्टे संचालनमा आएपछि महिलाहरुको नेतृत्व र व्यत्तित्वमा परिवर्तन आएको अमलटारी मध्यवर्ती होमस्टेका सह व्यवस्थापक पिङकी महतोले बताइन ।
आफ्नो सस्कृति र भेषभुषाको संरक्षण गर्दा, पर्यटन विकास संगै सामाजिक, आर्थिक विकासमा टेवा पुग्ने देखेपछि कावासोती १५ नम्बर वडाको गोडारका महिलाहरु मिलेर २०७५ सालमा थारु सास्कृतिक अतिथी गृह संचालन ल्याए ।
करिब १० वर्ष देखि साहारा महिला बचत समुहमा मासिक एक सय रुपौयाँको बचत गर्दै आएका २९ जना महिलाहरु मिलेर थारु सास्कृतिक अतिथी गृह संचालनमा ल्याएका हुन ।
कावासोती नगरपालिकाले वडा नम्बर १५ र १७ लाई पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाउदैछ भन्ने थाहा पाएर नै व्यवसाय तर्फ लागेको थारु सास्कृतिक अतिथी सचिव विनु महत्तोले बताईन । सधै कति दाउरा घास मात्रै गर्ने हो, आफु बस्ने ठाउँलाई पर्यटकीय क्षेत्र बनाउने कुरा भएको समयमा हामीले केहि गर्न सकेनौ भने कहिल्यै गर्न सकिदैन भन्ने सोचको विकासले नै अगाडि बढेको सचिव महत्तोले बताईन ।
साहारा महिला बचत समुहमा आवद्ध २९ जाना महिलाहरु मध्ये २६ जनाको दुई लाखका दरले र ३ जनाको एक लाखका दरले गरी जम्मा ५५ लाखको लगानीमा अतिथी गृह संचालनमा ल्याएका हुन । विनु यसको लगानीकर्ता हुन भने कर्मचारीको रुपमा पनि काम गर्दै आएकी छन । दुई विगाहा जग्गा भाडामा लिई संचालनमा ल्याईएको थारु सस्कृतिक अतिथी गृहमा थारु समुदायको परम्परागत संस्कृति झल्कने ५ वटा आवासीय घर र साँस्कृतिक भवन रहेको छ । महिला समूहमा बसेर वनजंगलको संरक्षण गर्दै गर्दा अब आत्मनिर्भर हुनुपर्छ भन्ने सोचले आज आफुहरु व्यवसायी हुन पुगेको त्यहाँ आवद्ध महिलाहरु बताउछन । व्यवस्थापक विनु भन्छिन “पहिले गृहिणी थिए कसैले बास्ता गदैनथे अहिले सबैजनाले कार्यक्रमहरुमा बोलाउनुहुन्छ, आफुमा पनि जिम्मेवारी बढेपछि काम गर्ने शैलिहरुमा परिवर्तन आएको छ ।”
पहिले आफु गृहिणी मात्रै भएर बस्दाका दिनहरु सम्झदै विनु भन्छिन “पहिले घरको काम मात्रै काम जस्तो हुने थियो तर अहिले जिम्मेवारी पाएपछि सोहि अनुसार आफुमा नेतृत्व र व्यक्तित्वमा विकास भएको महसुस भएको छ ।”
जिल्लामा अहिले १४ वटा होमस्टेहरु रहेका छन । यसवाट थारु, बोटे, दराई, कुमाल, मगर र गुरुङ समुदायका महिलाहरुको नेतृत्व र क्षमतामा विकास भएको पाईन्छ ।