चर्खा काटेर राम्रो आम्दानी गर्नुहुँदै कावासोतीका भण्डारी दम्पती
पछिल्लो समयमा चर्खा घुमाउने पेसा सबै ठाउँमा लोप हुँदै जान थालेको छ । फाट्टफुट्ट देखिए पनि यो पेसा हराउँदो रुपमा रहेको छ ।
आधुनिक प्रविधिको विकाससँगै ऊनीको धागो कात्ने घरेलु प्रविधिको यो पेसाले स्थान पाएको देखिँदैन । हराउँदै गएको यो पेसा पूर्वी नवलपरासीको कावासोती नगरपालिका–५ दशघरे चोकमा भने भण्डारी दम्पतीले अझै पनि कायमै राख्नुभएको छ ।
कावासोती–५ मा बसोवास गर्दै आउनु भएका ईश्वरीप्रसाद भण्डारी र उहाँकी श्रीमतीले भने फुर्सदको समयको उपयोग गर्नुहुँदै चर्खा घुमाएर धागो निकाल्ने र जनै बनाउने काम गर्नुभएको छ ।
बिगत ५–६ वर्षदेखि चर्खा घुमाएर धागो निकाल्ने र जनै बनाउने काम गर्दै आउनुभएको छ । भण्डारी दम्पतीले चर्खा घुमाएरै वार्षिक ५०–६० हजार आम्दानी गर्दै आउनुभएको छ ।
पछिल्लो समय चर्खा चलाएर धागो कात्ने काम नै लोप भइसकेको अवस्थामा घरमा बसेरै यो पेसा गर्न पाउँदा आफु सन्तुष्टि रहेको भण्डारी दम्पतीको भनाइ छ । फुर्सदको समय सदुपयोग भएको र आम्दानी पनि बढेको भण्डारी बताउनुहुन्छ ।
कच्चा पदार्थ (भेडाको रौँ) ल्याउने, धागो कात्न लगाउने र तयारी गर्न झन्झटिलो हुन्छ । जसले गर्दा आफूहरुले तयारी धागो बुटवलबाट खरिद गरी ल्याउने गरेको जानकारी भण्डारी दम्पती बताउनुहुन्छ । चर्खाबाट धागो कातेपछि आफ्नो जिविकापार्जन गर्न सहज भएको उहाँको भनाइ छ ।
कावासोती–५ दशघरेमा २०७१ सालबाट यो पेसा अँगालेका भण्डारी दम्पतीले चर्खाबाट धागो कातेर जनै बनाएर बेच्दा घरखर्च पुगेर पनि मासिक रुपमा बचत समेत गर्दै आउनुभएको छ ।
वैकल्पिक तरिकाबाट वन संरक्षणका लागि जिल्ला वन, जङ्गलमाथिको मानवीय चाप घटाउन चर्खाबाट धागो कात्ने कार्य प्रभावकारी रहेको बताइएको छ । चर्खाबाट धागो कात्ने र जनै बनाउने उहाँहरुको पेसा हो ।
जनैपूर्णिमा आउनुभन्दा एक महिना अघिदेखि विभिन्न ठाउँबाट बुकिङ हुने हुँदा उहाँहरुलाई भ्याइनभ्याई हुने गरेको समेत उहाँ बताउनुभयो । आफुले तयार पारेको जनै चितवन, गैडाकोट, दलदले, कावासोती र छिमेकी देश भारतमा समेत बिक्री हुँदै आएको उहाँको भनाइ छ ।
सिजनका समयमा बढि खरिद बिक्री हुने भए पनि वर्षभरी नै यो काम गर्ने गर्नुहुन्छ, भण्डारी दम्पती ।
जिविकोपार्जनका लागि अङ्गालेको यो पेसा राम्रो भएकाले बजारिकरणका लागि नगरपालिकाबाट व्यवस्था हुने हो भने सहज तरिकाबाट पेसालाई निरन्तरता दिन सकिने भण्डारी दम्पतीको भनाइ छ ।