भत्केको ६ वर्षपछि ठडिएकाे धरहरा आज उद्घाटन गरिँदै, सर्वसाधारणका लागि तत्काल नखुल्ने


काठमाडाैं – धरहराको आधुनिक प्रविधिमार्फत नवनिर्माण सम्पन्न भएसँगै आज औपचारिक उद्घाटन गरिँदै छ । विसं २०७२ सालको भूकम्पले भत्किएको धरहराको आधुनिक शैली पुनर्निर्माण/नवनिर्माण गरिएको हो ।

शनिबार लोकतन्त्र दिवसको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे धरहरा उदघाटन गर्न लागेका हुन् । यद्यपि धरहराको सबै निर्माण कार्य सम्पन्न भने भइसकेको छैन । हतारहतार बाहिरबाट देखिनेगरी धरहरा ठड्याइएको भए पनि भित्री कामहरु, बेसमेन्ट तथा पर्खाल र अन्य संरचना निर्माण्, सजावट, भूकम्प सङ्ग्रहालय निर्माण लगायत काम बाँकी नै छन् ।

लिफ्ट प्रविधि समेत राखिएकाेले यसकाे काम पनि सम्पन्न बाँकी छ, धरहरामा जडान गरिने दुईवटा लिफ्टमध्ये एउटा तयार भइसकेको र अर्काे जडानको क्रममा रहेको जनाइएकाे छ । कोरोनाको जोखिमका कारण र निर्माण पूरै नसकिएका कारण सीमित व्यक्तिमाझ उद्घाटन गरिन लागेको बताइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार उदघाटन कार्यक्रमको प्रत्यक्ष प्रसारण तथा सबैको अवलोकनका लागि वैकल्पिक व्यवस्था गरिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखा भूकम्पको छ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी गरिएकाे बताए। भाेलि वैशाख १२ गते गाेरखा भूकम्पकाे स्मृति दिवस पनि हाे । त्यसकाे अघिल्लाे दिन धरहराकाे उद्घाटन हुँदैछ । याे धरहरा पुरानाे भन्दा फरक किसिमले बनाइएकाे भए पनि बाहिरबाट हेर्दा पुरानै जस्ताे देखिन्छ ।

पहिलाकाे धरहराभित्र खालि सिँढी मात्र थिए भने अहिले भित्र संग्रहालय लगायत संरचना रहने बताइएकाे छ । यसमा माथि चढ्नका लागि सिँढीका साथै लिफ्ट प्रविधि छ, भित्र पुस्तकालय समेत रहनेछ । बाहिरबाट हेर्दा ११ तला देखिए पनि भित्र २२ तला र अन्डरग्राउन्ड समेत गरी कुल २५ तल्लाको धरहरा निर्माण भएको हो ।

शनिबार उद्घाटन गरिए पनि धरहरा सर्वसाधारणका लागि भने तत्काल खुल्ने छैन । सबै निर्माण कार्य सम्पन्न भएपछि मात्र खुला गरिनेछ ।प्रधानमन्त्री ओलीले गत वर्ष २०७६ पुस १२ गते धरहरा निर्माणको शिलान्यास गरेका थिए । करिब ३ अर्ब ४८ करोड रुपियाँको लागतमा धरहरा निर्माण सम्पन्न भएको हाे ।

यसमा अधिकांश चन्दा र सहयाेग रकमबाटै निर्माण गरिएकाे हाे । नेपाल टेलिकमकाे १ अर्ब सहयाेग र अन्य नागरिक, कर्मचारी, प्रधामन्त्री, मन्त्री लगायतकाे चन्दाबापतकाे सहयाेगबाट नेपाल सरकारले स्ववदेशी लगानीमै धरहरा निर्माण सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया