नवलपुरमा एमाले २६० र कांग्रेस २०३ पदमा विजयी
स्थानीय तह निर्वाचन–२०७९ पछि नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) नवलपुरमा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ ।
जिल्लामा सबैभन्दा धेरै जनप्रतिनिधि निर्वाचित गराउँदै एमाले पहिलो पार्टी बनेको हो ।
आठ स्थानीय तहका ९२ वडा रहेको नवलपुरमा एमालेले जम्मा २६० पदमा जित हासिल गरेको छ । एमालेले तीन नगरपालिकामा प्रमुख–उपप्रमुख दुवै पद, तीन गाउँपालिकामा अध्यक्ष र दुई गाउँपालिका उपाध्यक्षमा जित निकालेको छ ।
त्यस्तै ४८ वडामा वडाध्यक्ष, ९९ खुला सदस्य, ५१ महिला सदस्य तथा ५१ जना नै दलित महिला सदस्य एमालेका तर्फबाट निर्वाचित भएका छन् । नवलपुरमा एमालेका ५४ दशमलव ६२ प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका छन् ।
जिल्लामा नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेस २०३ जनप्रतिनिधि निर्वाचित गराउँदै जिल्लामा दोस्रो ठूलो पार्टी बनेको हो ।
नवलपुरमा काँग्रेसले एउटा नगरपालिकामा नगरप्रमुख–उपप्रमुख दुवै पद, एउटा गाउँपालिका अध्यक्ष तथा दुई गाउँपालिका उपाध्यक्षमा जित निकालेको छ ।
जिल्लाका ४१ वडामा काँग्रेसका तर्फबाट वडाध्यक्ष, ८० खुला सदस्य, ३८ महिला सदस्य तथा ३९ दलित महिला सदस्य निर्वाचित भएका छन् । जिल्लाका स्थानीय तहमा काँग्रेसको जनप्रतिनिधिको उपस्थिति ४२ दशमलव ६५ प्रतिशत रहेको छ ।
जिल्लामा नेकपा (माओवादी केन्द्र)ले दुई वडाध्यक्ष, दुई महिला सदस्य र एक दलित महिला सदस्य गरी जम्मा पाँच जनप्रतिनिधि मात्रै जितेको छ । यहाँको स्थानीय तहमा माओवादी केन्द्रका जनप्रतिनिधिको उपस्थिति एक प्रतिशत मात्रै रहेको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लामा एउटा वडाध्यक्ष, चार खुला सदस्य, एक महिला सदस्य र एक दलित महिला सदस्य गरी सात जनप्रतिनिधि जितेको छ । राप्रपाको जिल्लाका स्थानीय तहमा उपस्थिति एक दशमलव ४७ प्रतिशत रहेको छ ।
त्यसैगरी नवलपुरमा राष्ट्रिय जनमोर्चाले एक खुला सदस्य जितेको छ भने जिल्लाको स्थानीय तहमा राष्ट्रिय जनमोर्चाको उपस्थिति शून्य दशमलव २१ प्रतिशत रहेको छ ।
पालिका प्रमुखमा एक मात्रै महिला
जिल्लाका आठ पालिकामध्ये एउटा पालिकामा मात्रै प्रमुखका रुपमा महिला निर्वाचित हुनुभएको छ ।
नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षमा मात्रै महिलाको नेतृत्व पुगेको हो । यहाँ नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएकी लक्ष्मीदेवी पाण्डे गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
जिल्लाका अन्य स्थानीय तहको उपप्रमुख/उपाध्यक्षमा भने महिला निर्वाचित भएका छन् । आठ स्थानीय तह रहेको नवलपुरमा एउटा गाउँपालिका अध्यक्ष, सात पालिका उपप्रमुख/उपाध्यक्ष र तीन वडाध्यक्षमा महिला निर्वाचित भएका हुन् । रासस