घोषणापत्रका लागि सुझाव संकलन शुरुः गैडाकोट नेपाली कांग्रेस


नवलपुर

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि राजनैतिक दलहरु घोषणा पत्रको तयारीमा जुटिरहदा जिल्ला तहमा पनि यसको विषयमा छलफल शुरु भएको छ ।

निर्वाचनको मिति नजिकिदै गर्दा जनताको भावना र योजना समेटिएका घोषणापत्र लिएर राजनैतिक दलहरु चुनावी प्रतिस्पर्धामा होमिदैछन ।

यसैविचमा पूर्वी नवलपरासीमा नेपाली कांग्रेस गैडाकोटले स्थानीय तह निर्वाचनको लागि तयार गर्न लागेको घोषणा पत्रमा समावेश गर्नुपर्ने विषयलाई नगरवासी समक्ष सुझाव संकलन शुरु गरेको छ ।

जनभावना र नगर विकासको सन्दर्भमा आजदेखि वैशाखा ५ गतेसम्म सुझाव संकलन आह्रवान गरेको पत्रकार सम्मेलन गरी नगरसभापति बद्री सापकोटाले जानकारी दिनुभयो । नगरवासीको राय सल्लाह, सुझाव संकलनका लागि नेपाली कांग्रेसको नगर पार्टी कार्यालय विपी स्मृती भवनमा सुझाव पेटिका राखेको छ । त्यस्तै नगरपालिका भित्रका माध्यमिक विद्यालय तथा क्याम्पस परिसर बाहिर समेत सुझाव पेटिका राखेको जनाएको छ ।

नगरपालिका भित्र रहेका १८ वटा वडाका वडा सभापतिहरु मार्फत लिखित वा मौखिक रुपमा समेत सुझाव दिन, नेपाली कांग्रृ गैडाकोटको इमेल ठेगाना nepalicongress380@gmail.com मा पनि सुझाव दिन आग्रह गरिएको छ । वैशाख ४ गते आइतवार विहान १० बजेबाट बेलुका ५ बजेसम्म गैडाकोट नगरपालिकाको कार्यालय परिसर बाहिर राखिएको सुझाव पेटिका मार्फत पनि सुझाव दिन सकिने भन्दै नगरसभापति सापकोटाले निर्वाचन आचारसंहिताको परिधि भित्र रहेर सुझाव संकलनका गतिविधि सम्पन्न गर्ने बताउनुभयो । जनभावना समेट्ने गरी ल्याउन लागेको घोषणा पत्रका लागि नगरसचिव कृष्णमुरारी खनालको संयोजकत्वमा तयारी समिती गठन गरिएको छ ।

प्रतिक्रिया