२०८२ बैशाख ६, शनिबार

यो सरकार धेरै दिन टिक्दैन : प्रचण्ड

  • बिष्णु गौडेल
  • २०८२ बैशाख २, मंगलबार
यो सरकार धेरै दिन टिक्दैन : प्रचण्ड

कावासोती, २ वैशाख  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकार धेरै दिन नटिक्ने दाबी गरेका छन्। मंगलबार नवलपुरको कावासोतीमा नेपाल पत्रकार महासंघ नवलपुरले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले भने, ‘मैले चितवनमा बोल्दा कुनै दल वा दलका नेताहरुसँग छलफल गरेर बोलेको त होइन तर, घटनाक्रमले यस्तै देखाएको छ। मलाई लाग्छ मैले बोलेको सत्य हुँदै गएको छ।’

शिक्षक, स्वास्थ्यकर्मी, मिटरब्याजपीडित, सहकारीपीडितहरुसहित अधिकांश दलहरु सडक आन्दोलनमा रहेका कारण यो सरकार धेरै दिन नटिक्ने प्रचण्डको जिकिर थियो। उनले सरकारमा रहेका दलका नेताहरुले नै सरकारले गरेको काममा असन्तुष्टि पोखेको बताए। उनले यो सरकार जति दिन टिक्छ उति नै देशका लागि दुर्भाग्य हुने टिप्पणी गरे।

प्रचण्डले शिक्षकहरुको आन्दोलनबारे नकारात्मक अभिव्यक्ति दिएर प्रधानमन्त्री केपी ओलीले आगोमा घिउ थप्ने काम गरेको समेत आरोप बताए। आफू प्रधानमन्त्री हुँदा शिक्षकहरुसँग गरेको सम्झौताअनुसार यो सरकारले शिक्षकको जायज मागहरु पूरा गर्नुपर्नेमा उनको जोड थियो। प्रचण्डले भने, ‘संभव हुने मागहरु क्याविनेटको वैठक बसेर पूरा गर्नुपर्छ अनि बाँकी माग संसदको वैठक बोलाएर विद्यालय शिक्षा ऐन जारी गरेर पूरा गर्नुपर्छ।

माओवादी केन्द्रले नवलपुरबाट पुनः शुरु गरेको मधेश जागरण अभियानअन्तरगत आज जागरण अभियानमा सहभागी माओवादीका नेताहरु गैंडाकोट हुँदै कावासोती आइपुगेका छन्। सो क्रममा अध्यक्ष प्रचण्डसहितको टोेलीहरुले गैंडाकोटको लखन चोकमा रहेको नेपालका प्रथम सहिद लखन थापाको सलिकमा समेत माल्यार्पण गरेका थिए।

आज नै उनले रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा अवलोकन र कावासोतीमा वेपत्ता तथा सहिद परिवारसँग भेटघाट गरेका थिए। टोली आज पश्चिम नवलपरासीको बर्दघाट पुग्ने कार्यक्रम छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस