दुम्कीवास , ६ चैत
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले गाउँपालिका भित्रका मोतिया बिन्दु भएका व्यक्तिहरूको निःशुल्क शल्यक्रिया सुरु गरेको छ ।
गाउँपालिकाको विभिन्न पाँच वटा केन्द्रमा मोतिया बिन्दु परीक्षण शिविर सञ्चालन गरी शल्यक्रिया गर्नु पर्ने एक सय ६१ जनाको शल्यक्रिया सुरु गरिएको हो । सात सय ९५ जनाको मोतिया बिन्दु परीक्षण गर्दा एक सय ६१ जनालाई मोतिया बिन्दु देखिएको गाउँपालिकाका उपाध्यक्ष भगवती बैदवार क्षेत्रीले बताउनुभयो ।
“गाउँपालिकाले मोतिया बिन्दु भएका व्यक्तिहरूको छनोटका लागि नेत्र ज्योति सङ्घ नवलपरासी(बर्दघाट सुस्तापूर्व) र नेत्र ज्योति सङ्घ, भरतपुर आँखा अस्पताल चितवनसँगको समन्वयमा पालिका भित्रका विभिन्न पाँच स्थानमा मोतिया बिन्दु परीक्षण गरिएको थियो”,उहाँले भन्नु भयो ,“परीक्षणबाट मोतिया बिन्दु देखिएका एक सय ६१ जनालाई बुधवार देखि शल्यक्रिया शिविर सञ्चालन गरिएको छ ।”
विगतमा मोतिया बिन्दु परीक्षण स्थानीय स्तरमा गरेर कावासोती, चितवन, हेटौडा लगायतको स्थानमा शल्यक्रियाको लागि लगिने गरेकोमा यस पटक स्थानीय स्तरमा नै शल्यक्रियाको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।
“गाउँपालिका भित्र प्रत्येक वर्ष मोतिया बिन्दु परीक्षण शिविर सञ्चालन गर्ने गरिएको छ”,उहाँले भन्नु भयो,“गत वर्ष पनि एक सय २६ जनाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको थियो । ”
विभिन्न स्थानमा गरिएको परीक्षण शिविरबाट मोतिया बिन्दु भएका व्यक्तिहरूको शल्यक्रिया गर्नु पूर्व सुगर लगायत अन्य परीक्षणहरू गरे पश्चात् मोतिया बिन्दुको शल्यक्रिया गरिने भरतपुर आँखा अस्पताल चितवनकी डा. पुष्पा गिरी श्रेष्ठले जानकारी दिनुभयो । परीक्षणको क्रममा अधिकांशमा उमेर सङ्गै देखिने मोतिया बिन्दु देखिएको उहाँले बताउनुभयो ।
मोतिया बिन्दु शल्यक्रियाका लागि पालिकाको विभिन्न स्थानबाट बुधवार बिहानैबाट शल्यक्रिया हुने भानुदय मा.वि. मा मोतिया बिन्दु भएका व्यक्तिहरू आइपुग्नु भएको थियो ।
नेत्र ज्योति सङ्घ, नवलपरासी नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले विनयी त्रिवेणी गाउँपालिकालाई गरेको अनुरोध अनुरूप गाउँपालिकाको समेत अग्रसरतामा मोतिया बिन्दु परीक्षण शिविर र शल्यक्रिया सम्भव भएको सङ्घका जिल्ला सचिव उदयराज सिग्देलले बताउनुभयो । हुप्सेकोट गाउँपालिकामा समेत तत्काल मोतिया बिन्दु परीक्षण र शल्यक्रिया कार्य सञ्चालनको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।
आँखाको शल्यक्रिया पश्चात् आँखा देख्ने विश्वास शिविरमा सहभागी मोतिया बिन्दु भएका व्यक्तिहरूको छ । जिल्लामा विभिन्न संस्थाको आयोजनामा प्रत्येक वर्ष मोतिया बिन्दु परीक्षण तथा शल्यक्रिया हुँदै आएको छ । यध्येपी उमेर अनुसार हुने मोतिया बिन्दुको दर उच्च रहेको मोतिया बिन्दु शल्यक्रियाका लागि काम गरिरहेको नेत्र ज्योति सङ्घ नवलपरासी पूर्वका सदस्य दिवाकर पौडेलले बताउनुभयो ।