२०८१ चैत्र ६, बुधबार

वैदेशिक रोजगारीको पीडाः ११ महिनापछि बाकसमा फर्किएकी तिलमाया

  • बिष्णु गौडेल
  • २०८१ चैत्र ५, मंगलबार
वैदेशिक रोजगारीको पीडाः ११ महिनापछि बाकसमा फर्किएकी तिलमाया

विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी), ५ चैत,(रासस)
मङ्गलवार बिहानको मधुरो घाम लाग्दै गर्दा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ हसौरामा धनमाया सार्कीको घरमा शोकमग्न भीड जम्मा भइसकेको थियो ।

घरको आँगनमा राखिएको बाकसले त्यहाँको वातावरण अझ गम्भीर बनाइदिएको थियो । परदेशी भूमिमा श्रम बेच्न जानु भएकी धनमायाकी छोरी तिलमाया अब कहिल्यै नफर्किने गरी आफन्तका बिचमा बाकसभित्र आइपुग्नु भएको थियो ।
घरको आँगनमा उभिएकी छ वर्षीय नातिनी फेरि सोध्छिन्,“हजुरआमा, ममी कहिले आउनु हुन्छ ?“ तर, ७० वर्षीय हजुरआमा धनमाया केही भन्न सक्नुहुन्न । उहाँ चुपचाप आँसु पुछ्नुहुन्छ र बन्द बाकसतिर हेरिरहनु हुन्छ, जहाँ उहाँकी २६ वर्षीय छोरी तिलमाया सार्की चिरनिद्रामा सुतिरहनु भएको छ । घरको माहोल शोकमग्न छ । छिमेकीहरू मौन छन् । कसैले भन्न पनि सक्दैन—“तिम्रो ममी अब कहिल्यै फर्किनु हुन्न ।”

तिलमाया सार्कीले यो बाटो सजिलोसँग रोज्नु भएको थिएन । श्रीमान सँग सम्बन्ध विच्छेद भए पछि छोरीका लागि आमाबुबा दुवैको भूमिका निर्वाह गर्नु उहाँको बाध्यता बन्यो । गाउँमा रोजगारी थिएन । उधारोले घर चल्न सकेन । अनि, उहाँले मलेसियाको बाटो रोज्नु भयो ।
“म केही वर्ष दुःख गर्छु, छोरीलाई राम्रो बनाउँछु”, भन्दै उहाँले ६ वर्षीय छोरीलाई वृद्ध आमाको जिम्मा लगाउनु भयो र मलेसियातर्फ लाग्नु भयो । तर परदेशी भूमिले तिलमायालाई चाँडै नै गुमाइदियो ।

गत वैशाख २६ गते मातातिर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसिया वाट तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो । त्यसको केही दिन पछि अचानक फोन आयो“तिलमायाको हत्या भयो”।

यो खबरले परिवारलाई छिया–छिया बनायो । पाकिस्तानी नागरिकले तिलमायाको हत्या गरेको खबर पुष्टि गर्न नै केही हप्ता लाग्यो । अन्ततः सरकारी प्रक्रिया पुरा गरी हत्या भएको ११ महिना पछि तिलमायाको शव बाकसमा घर आइपुग्यो ।
तिलमायालाई अन्तिम श्रद्धाञ्जली दिन गाउँका सबै जम्मा भए । धार्मिक परम्परा अनुसार गर्नु पर्ने विधि पुरा गरी तिलमायाको अन्तिम संस्कार गरियो ।

मृत्यु भएकी छोरीलाई अन्तिम पटक भए पनि हेर्ने आमा धनमायाको अठोटले तिलमायाको शव घर सम्म आइपुगेको हो । हत्या गरिएको बीभत्स शव नेपाल ल्याउनका लागि घर परिवारले ११ महिना सम्म वडा कार्यालय, नगरपालिका हुँदै धेरै ठाउँमा धाउनु परेको थियो ।

आप्रवासन केन्द्रको निरन्तरको प्रयास र आफूहरूको प्रयासलाई बल पुग्ने गरी समाचारहरू आए पछि शव नेपाल ल्याउन सम्भव भएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले बताउनु भयो ।
“सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि सुनुवाइ हुन सकेको थिएन”,उहाँले भन्नु भयो,“शव नेपाल ल्याइए पनि राहत रकमको लागि पहल भइरहेको र १५/२० दिनमा राहत पनि आइसक्ने छ ।”

वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीले राहत रकम उपलब्ध गराउनेछ भने मलेसियामा अदालतको फैसला पछि मात्र हत्या गरेका व्यक्तिबाट क्षतिपूर्ति रकम भराइने भएको छ ।
सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्क अनुसार नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको अहिलेसम्म वैदेशिक रोजगारीमा गएका मध्य २० जनाको मृत्यु भएको छ । मृतक मध्य अझै दुई जनाको शव नेपाल ल्याउन बाकी रहेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस