विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी),४ चैत ,(रासस)
एघार महिना अघि मलेसियामा हत्या भएकी नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ ।
गत वैशाख २९ गते मलेसियामा हत्या भए पछि शव ल्याउनका लागि परिवारले पहल गरे पनि ढिलाइ भएको थियो ।
तिलमायाको शव नेपाल ल्याउन भएको ढिलाइका बारेमा छोरीको शव ल्याउन भौँतारिइरहेकी ७० वर्षीय आमा शीर्षकमा समाचार प्रकाशित भए पछि प्राथमिकताका साथ पहल भई शव नेपाल ल्याउन लागिएको हो ।
रोजगारीको लागि मलेसिया जानुभएकी २५ बर्सिया तिलमायाको हत्या भए पछि परिवारले शव पनि पाएको थिएन भने राहत रकमका लागि कागजात पुरा गर्न पनि सकेको थिएन । श्रीमान् सँग सम्बन्ध विच्छेद गरेर ६ वर्षीय छोरी आमाको जिम्मा लगाएर मलेसिया जानु भएको तिलमायाको पाकिस्तानी नागरिकले हत्या गरेका थिए ।
छोरी तिलमायाको हत्या भएको खबर पाए देखि नै शव नेपाल ल्याउनका लागि ७० वर्षीय आमा धनमाया सार्की विभिन्न निकाय धाउनु भएको थियो । तर पनि हत्याको अनुसन्धान नसकिएको भन्दै मलेसिया वाट शव नेपाल पठाउन आनाकानी गरिएको थियो ।
शव ल्याउन ढिलाइ हुँदा परिवारले पाएको दुःखका बारेमा रासस सहित विभिन्न सञ्चार माध्यम मार्फत समाचार प्रकाशन भए पछि यस विषयले प्राथमिकता पाएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले बताउनुभयो ।
“लामो प्रयास पछि शव नेपाल ल्याउन लागिएको छ ।
तिलमायाको शव बोकेको विमान सोमबार दिनको साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल काठमाडौँमा अवतरण गर्ने जानकारी पाएका छौ”,उहाँले भन्नु भयो,“शव बुझ्नका लागि तिलमायाको दिदी नीलमाया सार्की आइतबार काठमाडौँ जानु भएको छ ।”
मलेसिया देखि काठमाडौँ शव ल्याउँदाको खर्च मलेसियन कम्पनीले नै बेहोर्ने भएको छ । शव सोमबार साँझ सम्ममा तिलमायाको माइती घर नवलपरासी(बर्दघाट सुस्तापूर्व) को कावासोती–४ हसौरामा आइपुग्ने लम्सालले जनकारी दिनु भयो ।
“वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने निःशुल्क शव बाहान मार्फत काठमाडौँ देखि घर सम्म शव ल्याइने छ”,उहाँले भन्नु भयो,“आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरिएकाले सोमबार नै शव घर आइपुग्ने छ ।”
लामो समयसम्म अनेक प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा तिलमायाकी वृद्धा आमा र नाबालिगका छोरी तड्पिरहनुभएको थियो । जसरी भए पनि छोरीको शव नेपाल ल्याउन आमा धनमाया ११ महिना देखि वडा कार्यालय र नगरपालिका धाउने गर्नु भएको थियो । तिलमायाको हत्या भएको खबर लगत्तै तत्काल सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि ढिलाइ भए पछि रासस मार्फत समाचार प्रकाशन गरिएको थियो ।
मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुङ्गो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुने भएकाले अनुसन्धान सकेर शव पठाउन ढिलाइ भएको जानकारी आएको सुरक्षित आप्रवासन केन्द्र परामर्शदाता लम्सालले बताउनुभयो । वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नु पर्छ ।
“तिलमायाको परिवारले पाउने आर्थिक सहायताका लागि वैदेशिक रोजगार बोर्डमा निवेदन दिइसकिएको र बाकी कागजपत्र शव सँगै आउने हुँदा पछि बुझाइने छ”, लम्सालले भन्नु भयो ।