विष्णु गौडेल, मध्यविन्दु(नवलपरासी), २२ फागुन (रासस)
नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले वर्तमान सरकारका विरुद्धमा गलत भाष्य निर्माण गर्न खोजिएको बताउनु भएको छ ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाने महोत्सवको उद्घाटन गर्नु हुँदै मन्त्री अधिकारीले सरकारका असल कामहरू वाट आत्तिएर केही समूहले भ्रमको खेती गरेको आरोप लगाउनु भएको हो ।
“केही समूहले प्रमुख दुई दल मिलेर बनेको सरकारले सबै कुरा बिगारेको जस्तो गरी कु प्रचार गरेका छन्”,उहाँले भन्नु भयो,“विगत २० वर्ष अगाडि देशको अवस्था कस्तो थियो, त्यो समूहले देशलाई कसरी वर्वादि तर्फ धकेलेको थियो हामी सबैलाई थाहा छ ।”
कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले वर्तमान सरकारले जनताको हितमा काम गर्ने प्रतिबद्धता सहित गठबन्धन गरेकाले २०८४ सम्ममा आर्थिक समृद्धिको आधार तय हुने बताउनु भयो । अहिले देखिएको आर्थिक मन्दी अन्त्यका लागि कृषि उत्पादन वृद्धि गर्दै बजारीकरणको जिम्मा सरकारले लिने गरी योजना बनेको बताउनु भयो ।
“हामीले २०८४ सम्ममा समृद्धिको ढोका खोल्ने सङ्कल्प सहित सरकारमा आएका हौँ”,उहाँले भन्नु भयो,“गाउँ गाउँमा समृद्धि कसरी गर्न सकिन्छ, कृषिबाट के गर्न सकिन्छ भन्ने बारे सरकार चिन्तनशील रहेको छ पक्कै सबैले अनुभूति हुने गरी प्रगति हुने छ ।”
कृषकहरूले गरेको कामको व्यवस्थापन का लागि मन्त्रालय वाट गर्न सकिने सहयोगका लागि आफू तयार रहेको मन्त्री अधिकारीले बताउनु भयो । कृषकहरूले केही आम्दानी हुने आसमा गरेको खेती वाट नाफा नै हुन्छ भन्ने नरहेकाले घाटामा जाँदा सरकारले हेर्छ है भन्ने विश्वास दिलाउन लागिपरेको उहाँको दाबी छ ।