फेसबुकमा पछ्याउनुहोस्
हुप्सेकोट, १८ फागुन,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण(स्क्रीनिङ) सुरु गरिएको छ । गाउँपालिका अन्तरगतका सामुदायिक विद्यालय तहका सम्पूर्ण छात्र छात्राहरूको आँखा परीक्षण गर्ने गरी आइतबार देखि परीक्षण शिविर सञ्चालन गरिएको हो ।
हुप्सेकोट गाउँपालिकाको आयोजना एवं भरतपुर आँखा अस्पतालको समन्वयमा सञ्चालित आँखा परीक्षण शिविरको पहिलो दिन दुई वटा विद्यालयमा परीक्षण कार्य सम्पन्न गरिएको हुप्सेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले जानकारी दिनु भयो । आइतबार जनता मा.वि. बेलुवा र सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालय गिरुवारीका एक हजार एक सय ७९ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । आँखा परीक्षण गरिएका मध्य ३९ जना विद्यार्थीलाई चस्माका लागि सिफारिस गरिएको छ । चस्मा लगाउनु पर्ने विद्यार्थीहरूलाई निःशुल्क चस्मा प्रदान गरिने सापकोटाले जानकारी दिनु भयो ।
विद्यालयमै आएर विद्यार्थी को आँखा जाँच गर्दा विद्यार्थीमा रहेको आँखासम्बन्धी समस्या पहिचान र समयमै उपचार गर्नका लागि सुविधा पुगेको सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालय गिरुवारीका व्यवस्थापन समितिका अध्यक्ष नरेश गोदारले बताउनु भयो ।
विद्यालय तहका बालबालिकाले आँखामा हुने समस्या समयमै पहिचान गर्न नसक्दा भविष्यमा ठुलो समस्या हुन सक्ने भएकाले विद्यालय तहमा नै परीक्षण सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो ।
आँखा सँगै बालबालिकाको मुटु, दाता लगायतका स्वास्थ्य परीक्षण पनि गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष पाण्डेले बताउनु भयो ।