२०८१ फागुन ३०, शुक्रबार

नवलपरासी पूर्वमा स्थायी बन्ध्याकरण घुम्ती शिविर हुने

  • बिष्णु गौडेल
  • २०८१ फागुन १२, सोमबार
नवलपरासी पूर्वमा स्थायी बन्ध्याकरण घुम्ती शिविर हुने

कावासोती,१२ फागुन
प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा यही फागुन १८ देखी २० गते सम्म निःशुल्क स्थायी बन्ध्याकरण शिविर हुने भएको छ ।
सन्तानको रहर पुगेका महिला तथा पुरुषका लागि निःशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुन लागेको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रमुख शैलेन्द्र कुमार सिंहले बताउनु भयो ।
स्थायी बन्ध्याकरण शिविर अन्तरगत यही फागुन १८ गते मध्यविन्दु नगरपालिकाको प्रसौनी स्वास्थ्य चौकी, १९ गते मध्यविन्दु नगर अस्पताल र २० गते मध्यविन्दु प्रादेशिक अस्पतालमा सञ्चालन हुने प्रमुख सिंहले जानकारी दिनु भयो ।
“शिविर तीन स्थानमा सञ्चालन गरिने भए पनि जिल्ला भित्रका जुन कुनै स्थानका नागरिकले निःशुल्क सेवा लिन सक्नु हुने छ”,उहाँले भन्नु भयो,“स्थायी बन्ध्याकरण गराउने व्यक्तिलाई यातायात र पोषण खर्च प्रदेश जनस्वास्थ्य कार्यालयले उपलब्ध गराउने छ ।”
अनिच्छित गर्भाधान रोक्नका लागि समेत स्थायी बन्ध्याकरण प्रभावकारी हुने सिंहले बताउनुभयो । प्रदेश जनस्वास्थ्य कार्यालयले जनचेतनाका रूपमा स्थायी बन्ध्याकरण शिविरको आयोजना गरेकाले सन्तानका रहर पुगेका व्यक्तिहरूलाई बन्ध्याकरण गर्न आग्रह गर्नुभयो । स्थायी बन्ध्याकरण गर्दा कमजोर भइन्छ भन्ने भनाइहरू सत्य नभएको भन्दै उहाँले बन्ध्याकरणपछि पनि बन्ध्याकरण अगाडिको जस्तै स्वास्थ्य र तन्दुरुस्त भइने बताउनुभयो ।


मध्यविन्दु प्रादेशिक अस्पताल सँगै अन्य स्वास्थ्य संस्थाहरूमा नियमित बन्ध्याकरण सेवा उपलब्ध रहेता पनि जनमानसमा सचेतनाका लागि शिविर को रूपमा कार्यक्रम गरिएको उहाँले बताउनु भयो ।
इच्छुक दम्पतीहरूले नजिकको स्वास्थ्य संस्थामा तथा महिला स्वास्थ्य स्वयम सेविकालाई सम्पर्क गरी शिविर सम्बन्धी जानकारी लिनु सक्ने व्यवस्था गरिएको छ ।
यसैबिच बन्ध्याकरण शिविरको पूर्व तयारीका बारेमा प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को आयोजनामा सरोकारवालाहरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लाका गाउँपालिका एवं नगरपालिकाका स्वास्थ्य शाखाका प्रतिनिधि, स्वास्थ्य स्वयम सेविका सहित सरोकारवालाहरू बिच बन्ध्याकरण शिविरको तयारी र प्रभावकारीका विषयमा छलफल गरिएको हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस