मध्यविन्दु(नवलपरासी), १२ फागुन
नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहयोग रोकिने जोखिम बढेको बताउनु भएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नेकपा एमाले प्रचार विभागले गरेको भेटघाट कार्यक्रममा बोल्दै पाण्डेले सो कुरा बताउनु भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय निर्णयहरूको कारण अमेरिकाबाट प्राप्त हुने सहयोग मात्रै नभई अन्य मित्र राष्ट्रबाट प्राप्त हुने अनुदानहरू समेत कटौतीको जोखिम बढेको उपाध्यक्ष पाण्डेले बताउनु भयो । ट्रम्पको निर्णयले युएसए आईडी र एमसिसी परियोजनामा प्रत्यक्ष असर परेको उहाँले उल्लेख गर्नु भयो ।
“युएसए आईडीको सहयोगमा भइरहेका कामहरू रोकिने मात्रै होइन, एमसिसी को दायित्व नेपालले बहन गर्नुपर्ने अन्यौलता समेत सृजना भएको छ”,उहाँले भन्नु भयो,“यदि एमसिसी पनि रोकियो भने ठेक्का त भइसक्यो, कि त हामीले ठेक्का अनुसारको भुक्तानी दिएर काम सम्पन्न गर्नु पु¥यो ! कि त ठेक्का रद्द गर्दा क्षतिपूर्ति बेह्रनुपर्ने हुन्छ ।”
ट्रम्प प्रशासनको निर्णयहरूको कारण युरोपियन युनियनका राष्ट्रहरूमा पनि अन्यौलता पैदा भएको भन्दै उहाँले राष्ट्रिय सुरक्षा, रोजगारी सृजना लगायतमा युरोप राष्ट्रहरू केन्द्रित बन्दा नेपाललाई ती राष्ट्रहरूले गर्ने सहयोग पनि कटौती हुनसक्ने जोखिम रहेको बताउनु भयो ।
“अन्तर्राष्ट्रिय सहयोग बिना नै हामीले सबै काम गर्न सक्छौँ भन्ने स्थितिमा नेपाल छैन”,उहाँले भन्नु भयो,“राजश्व सङ्कलन गत आर्थिक वर्ष भन्दा पनि कम हुने स्थिति अहिले रहेको छ, अन्तर्राष्ट्रिय सहयोग रोकिने, राजश्व सङ्कलनमा कमी आउने अवस्थामा पुँजीगत खर्च गत आर्थिक वर्ष भन्दा न्यून हुने देखिन्छ ।”
सम्बोधनका क्रममा उपाध्यक्ष पाण्डेले भाषणमा भन्ने र कागजमा लेख्ने गरेर समाजवाद प्राप्त हुन नसक्ने भन्दै उत्पादन र आर्थिक गतिविधिको माध्यमबाट मात्रै समाजवादको लक्ष्य प्राप्त हुने बताउनु भयो । अहिले विश्वव्यापी रूपमा देखिएको व्यपारयुद्ध फरक तरिकाले अगाडी बढिरहेको भन्दै उहाँले समयानुसार नेपाललाई आर्थिक रूपमा सबल बनाउन तर्फ केन्द्रित बन्नुपर्नेमा जोड दिनु भयो ।