फेसबुकमा पछ्याउनुहोस्
कावासोती,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका -१३ स्थित प्रगतिशील युवा क्लबले स्थानीय समस्यालाई लिएर वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ। क्लबका अध्यक्ष समिर लामिछानेको नेतृत्वमा गएको टोलीले वडाध्यक्षलाई ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको हो।
ध्यानाकर्षण पत्रमा वडा नं.-१३ अन्तर्गत पर्ने सृजना चोक देखि देविस्थान सम्मको बासिन्दाहरूले भोगिरहेको समस्या उठाइएको छ।
यस अवसरमा अध्यक्ष लामिछानेले भने, “स्थानीय समस्याहरूलाई तत्काल सम्बोधन गर्न वडा कार्यालयले पहल नगरे जनस्तरबाट दबाबमूलक कार्यक्रम ल्याउन बाध्य हुने स्थिति आउन सक्छ। क्लबले हरेक नागरिकको अधिकार र समस्याका लागि सधैँ अग्रसरता लिनेछ।”
कार्यवाहक वडा अध्यक्ष विमला चौधरीले ध्यानाकर्षण पत्र ग्रहण गर्दै समस्या समाधानका लागि तत्काल आवश्यक कदम चालिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।