विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी), २२ पुस, (रासस)
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा यस वर्ष थप ११ हेक्टर क्षेत्रफलमा आलु खेती विस्तार भएको छ । कृषकहरू आलु खेती तर्फ आकर्षित हुँदा गत वर्ष भन्दा यस वर्ष जिल्लामा आलु खेती थप ११ हेक्टर क्षेत्रफलमा विस्तार भएको हो । जिल्लामा यो वर्ष तीन हजार दुई सय १६ हेक्टर क्षेत्रफलमा आलु खेती भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुल प्रसाद तिवारीले बताउनु भयो ।
“गत वर्ष तीन हजार दुई सय पाँच हेक्टरमा आलु खेती भएकोमा यो वर्ष ११ हेक्टर जमिनमा थप विस्तार भएको छ”,प्रमुख तिवारीले भन्नु भयो,“गत वर्ष जिल्लामा ५८ हजार चार सय १३ मेट्रिक टन आलु उत्पादन भएको थियो ।”
जिल्लामा बर्सेनि आलु उत्पादन हुने क्षेत्र र उत्पादन बढ्दै गए पछि आलुमा आत्मनिर्भर वनेको प्रमुख तिवारीले बताउनु भयो । जिल्लामा व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको तथ्याङ्कमा देखिएको छ ।
“आलु उत्पादनका हिसाबले नवलपरासी(बर्दघाट सुस्तापूर्व) आत्मनिर्भर रहेको छ”,उहाँले भन्नु भयो,“यो वर्ष पनि समय अनुकूल छ, आलु उत्पादन राम्रो हुने अनुमान छ ।”
यस वर्ष जिल्लामा गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको समुदाय स्तरमा प्रशोधन आलु प्रवद्र्धन कार्यक्रम मार्फत ११ हेक्टर क्षेत्रफलमा खेती विस्तार भएको कृषि ज्ञान केन्द्र नवपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताउनु भयो । क्षेत्रफलसँगै यस वर्ष आलु उत्पादन बढ्ने प्रारम्भिक अनुमान छ । कृषि ज्ञान केन्द्र सँगै स्थानीय तहले आलु खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरिरहेकाले आलु खेती विस्तार हुँदै गएको हो ।
“जिल्लामा आलु खेती गर्ने किसानलाई थप प्रोत्साहन गरी उत्पादन बढाउने उद्देश्यले कृषि ज्ञान केन्द्र मार्फत मध्यविन्दु र कावासोती नगरपालिका तथा हुप्सेकोट गाउँपालिकामा समुदाय स्तरमा प्रशोधन आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ”,उहाँले भन्नु भयो,“कृषि ज्ञान केन्द्रले कृषक समूहमा आलु खेती प्रवर्धन कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।”
जिल्लाको कावासोती र मध्यविन्दु नगरपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ । सो क्षेत्रमा व्यावसायिक रूपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी काफ्लेले बताउनु भयो ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी, हुप्सेकोट र बौदीकाली गाउँपालिका, कावासोती,मध्यविन्दु, देवचुली र गैँडाकोट नगरपालिकामा व्यावसायिक आलु खेती गर्ने गरिएको छ । किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै काठमाडौँ पनि जाने गरेको छ ।