विष्णु गौडेल,मध्यविन्दु (नवलपरासी), ४ वैशाख,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र नवलपरासी(बर्दघाट सुस्तापूर्व)का अनुसार जिल्लामा यस वर्ष दुई हजार चार सय ६९ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिदा सो उत्पादन भएको हो ।
जिल्लामा विगत तीन वर्ष देखि तोरी खेती तर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा सुधार आएको कृषि ज्ञान केन्द्र नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रमुख कुलप्रसाद तिवारीले बताउनु भयो । उत्पादन भएको तेलहन वाली मध्य तोरी एक हजार तीन सय १९ मेट्रिक टन रहेको छ भनेसर्सियु(ठुलो किसिमको तोरी) एक हजार सात सय १५ मेट्रिक टन रहेको प्रमुख तिवारीले बताउनु भयो ।
“आ.व.२०८०/८१ मा जिल्लामा दुई हजार चार सय ४३ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिदा दुई हजार नौ सय ७१ मेट्रिक टन उत्पादन भएको थियो”,उहाँले भन्नु भयो,“२०७९/८० मा जिल्लामा दुई हजार चार सय ३३ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिदा दुई हजार नौ सय २० मेट्रिक टन उत्पादन भएको थियो ।”
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा गत आर्थिक वर्ष २०८०/८१ मा भन्दा यस वर्ष तोरी खेती गर्ने क्षेत्रफल २६ हेक्टर र उत्पादन ६३ मेट्रिक टनले वृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि बाली विज्ञ सञ्जय ढकालले बताउनु भयो । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा भन्दा २०८०/८१ मा तोरी खेती गर्ने क्षेत्रफल १० हेक्टर र उत्पादन ५१ मेट्रिक टनले वृद्धि भएको ढकालले जानकारी दिनु भयो ।
“विगत तीन वर्षको तथ्याङ्कलाई हेर्दा तोरी खेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढेको देखिन्छ”,उहाँले भन्नु भयो,“जिल्लामा तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको छ ।”
अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसानहरू तोरी खेतीमा आकर्षित भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेले बताउनु भयो ।
“तोरी बाली लगाउन पनि सजिलो,खासै दुख पनि नहुने भएकाले जिल्लामा तोरी खेती फस्टाएको छ”,उहाँले भन्नु भयो,“तोरी खेती बढ्नुको मुख्य कुरा भनेको मूल्य बढ्दै जानू र बजारमा आएका तेलमा मिसावट भएका कारणले किसानहरूको आकर्षण बढ्दै गएको हो ।”
पछिल्ला वर्षमा तोरीको भाउ किसानले राम्रै पाउन थालेका छन् । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका क्षेत्रमा बढी मात्रामा तोरी खेती गरिन्छ ।