मध्यविन्दु (नवलपरासी), २८ चैत
पूर्व पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाको कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएका कारण सवारी साधनहरू आवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाको कारणले सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनु भयो ।
दाउन्ने क्षेत्रमा कालोपत्रे सडक खनेर विस्तारको काम भई रहेको अवस्थामा बिहीबार बिहान परेको वर्षाले सडक हिलाम्य भएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनु भयो । सडक अवरुद्ध हुँदा अहिले सयौँ सवारी साधन र यात्रुहरू बिच सडकमा अलपत्र परेका छन् ।
सडक विस्तारका क्रममा भत्काइएका संरचनाहरू समयमै पुनर्निर्माण नहुँदा अन्य समयमा पनि दाउन्ने क्षेत्रमा यात्रुहरूले दिनहुँ कष्ट भोग्न बाध्य रहेका थिए ।
अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको अवस्थामा वर्षाले सडक अवरुद्ध बनाएको हो । दाउन्ने क्षेत्रमा बुधवार देखि आगामी चैत ३१ गते सम्मका लागि दिनको ११ बजे देखि ३ बजे सम्म आवागमन बन्द गरेर मर्मत कार्य सुरु गरिएको थियो । त्यसै गरी आगामी वैशाख १ गते देखि १५ गते सम्म राति ११ बजे देखि बिहान ५ बजे सम्म आवागमन रोकेर विस्तारको काम गरिने तयारी गरिएको छ ।