दीपक भट्टराई, कावासोती । नवलपुरको देवचुली नगरपालिकाले सेवा प्रवाहलाई अनुशासित, जिम्मेवार र राष्ट्रप्रति सम्मानजनक बनाउन नयाँ अभ्यास सुरु गरेको छ। अबदेखि प्रत्येक दिन बिहान १० बजे नगरपालिकाका कर्मचारीहरू राष्ट्रिय गान गाएपछि मात्र सेवा प्रवाह सुरु गर्ने परम्पराको थालनी गरिएको हो।
नगरपालिकाले सुरु गरेको यो अभियानले कार्यालय समयको व्यवस्थापन सुधार गर्ने, कर्मचारीहरूलाई समयमा उपस्थित गराउने र राष्ट्रप्रेम जागृत गर्ने लक्ष्य लिएको छ। नगरप्रमुख न्यौपानेका अनुसार यस अभ्यासले कर्मचारीहरूलाई सकारात्मक ऊर्जा प्रदान गर्नुका साथै सेवाग्राहीलाई पनि राम्रो अनुभूति दिलाउने विश्वास गरिएको छ।
“सरकारी कार्यालयहरूमा समयमा काम नहुने गुनासो आम नागरिकमा रहँदै आएको छ। हामीले यो नयाँ अभ्यास थालेर सकारात्मक सन्देश दिएका छौं,” न्यौपानेले थपे।
नगरपालिकाका कर्मचारीहरू दैनिक बिहान १० बजे एक ठाउँमा भेला भएर राष्ट्रगान गाउने र त्यसपछि मात्र औपचारिक रूपमा नागरिक सेवाहरू प्रदान गर्ने व्यवस्था लागू गरिएको छ।
नगरपालिकाले अपनाएको यो नयाँ अभ्यास अन्य स्थानीय तहहरूका लागि पनि प्रेरणादायी बन्न सक्ने अपेक्षा गरिएको छ। प्रमुख न्यौपाने भन्छन्, “हामीले चालेको यो सानो कदमको प्रभाव दीर्घकालीन हुनेछ।”
देवचुली नगरपालिकाको यो अभ्यास राष्ट्रप्रेम, अनुशासन र प्रभावकारी सेवा प्रवाहको उदाहरणीय प्रयासका रूपमा गरिएकाे कर्मचारीहरूले बताए ।