२०८१ चैत्र २०, बुधबार

एक लाख दश हजार बिरुवा तयार गरिँदै

  • बिष्णु गौडेल
  • २०८१ चैत्र १९, मंगलबार
एक लाख दश हजार बिरुवा तयार गरिँदै

विष्णु गौडेल, मध्यविन्दु (नवलपरासी),१९ चैत,(रासस)
डिभिजन बन कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले एक लाख १० हजार भन्दा बढी बिरुवा तयार पर्ने भएको छ । डिभिजन बन कार्यालय कावासोती र गैँडाकोट सब डिभिजन कार्यालय गरी दुई वटा नर्सरीमा विभिन्न प्रजातिका बिरुवा तयार गरिने भएको हो ।
आगामी असार भित्र वृक्षारोपणका लागि तयार हुने गरी एक लाख १० हजार बिरुवा उत्पादन गरिएको डिभिजन बन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताउनु भयो ।
“नर्सरीमा बाँस, तेजपात, हर्राे, बर्राे, धुपी, कपुर, म्याडगोस्टिक, अशोक, सितलचिनी, निम, रुख कटहर, अम्बा, टाँकी, बडहर, जामुन, कल्की, टिकुमा, टिक, किम्बु, बकाइनो, पिपल,, अमला, लप्सी,चिउरी, भटमास घाँस, लगायतका बिरुवा रहेका छन्”,उहाँले भन्नु भयो ।
हुर्काएका बिरुवा आगामी असार देखि वृक्षारोपणका निमित्त निःशुल्क वितरण गरिने भएको छ । गत वर्ष पनि वन कार्यालय मार्फत एक लाख ६० हजार बिरुवा वृक्षारोपणका निमित्त निःशुल्क वितरण गरिएको प्रमुख अधिकारीले जानकारी दिनु भयो ।
“गत वर्ष एक लाख ३० हजार बिरुवा दुई वटा नर्सरीमा तयार गरिएको थियो”,उहाँले भन्नु भयो,“बहुवर्षिय र पहिल्यै तयार गरिएको बिरुवा गरेर एक लाख ६० हजार बिरुवा वृक्षारोपणका लागि वितरण गरेका थियौ ।”
नर्सरीमा हुर्काइएका बिरुवा रोपणका निमित्त प्रत्येक वर्ष निःशुल्क वितरण गर्ने गरिएको छ । विशेष गरी निजी जमिनमा बिरुवा माग गर्ने उपभोक्ताहरूले सौन्दर्यजन्य धुपी, कल्की फूल, गोलमोहर, वीरेन्द्र फूल, कपुर जस्ता बिरुवा लैजाने गरेको डिभिजन वन कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी शिशिर लम्सालले बताउनुभयो ।
“गत वर्ष वाकी रहेको २० हजार बिरुवा र बहु वर्षीय २० हजार बिरुवा पनि हाम्रो नर्सरीमा रहेको छ”,उहाँले भन्नु भयो,“जसमा बहु वर्षीय रुखका बिरुवा, बहु वर्षीय डाले घाँसका बिरुवा, बहु वर्षीय फूलका बिरुवा, सुगन्धित, जडीबुटीजन्य बिरुवाका साथै भू–क्षय, कटान तथा पहिरो रोकथाम उपयोगी बाँस तथा अम्रिसो जातका बिरुवाहरू तयार गरिएको छ ।”
बन कार्यालयको नर्सरी वाट प्रत्येक वर्ष बिरुवा उपलब्ध गराउन थालिएसँगै जिल्लामा पछिल्लो वर्षहरूमा वृक्षारोपण कार्यमा वृद्धि भएको छ । निजी, सार्वजनिक तथा संस्थागत सबैलाई निःशुल्क रूपमा बिरुवा उपलब्ध गराउँदा वातावरणीय सन्तुलन, वातावरणीय सौन्दर्यीकरण, भू–क्षय तथा कटान रोकथाम, पशुको आहारा घाँस परिपूर्तिमा टेवा पुग्ने अपेक्षा गरिएको सूचना अधिकारी लम्सालले बताउनु भयो ।
“कार्यालयले बिरुवा वितरण गरेसँगै यहाँका विद्यालयहरू, क्लब, टोल सुधार संस्था, धार्मिक मठ मन्दिरले समेत वृक्षारोपणमा चासो देखाउने गरेका छन्”,उहाँले भन्नु भयो,“नर्सरीमा बिरुवा उत्पादन गर्न थाले पछि अन्य जिल्लाबाट पनि यहाँ बिरुवा लिन आउने गरेको छन् ।”

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस