कावासोती, १७ चैत, नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाले मर्चरी चेम्बर(शव सुरक्षित राख्ने फ्रिज) सञ्चालनमा ल्याएको छ । पछिल्लो समय परिवारका सदस्यहरू टाढा रहेका कारण कोही आफन्त गुमाउँदा तुरुन्त अन्त्येष्टि गर्न नसकिने अवस्थालाई मध्यनजर गर्दै शवलाई सुरक्षित राख्नको लागि मर्चरी चेम्बर (Dead Body Freezer Box) सञ्चालनमा ल्याइएको उपशाखाले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
कोही आफन्त गुमाउँदा तुरुन्त अन्त्येष्टि गर्न नसकिने, धार्मिक वा अन्य कारणले गर्दा शवलाई केही समयसम्म सुरक्षित राख्नुपर्ने अवस्थामा घरमै शवलाई व्यवस्थित रूपमा राख्न सक्ने मर्चरी चेम्बर (Dead Body Freezer Box) सञ्चालनमा ल्याएको नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाका सभापति बाबुराम कँडेलले बताउनुभयो । यस चेम्बरको प्रयोगबाट शवहरूलाई उचित तापक्रममा सुरक्षित रूपमा राख्न सकिन्छ । जसले मृतकका परिवारलाई आवश्यक प्रक्रियाहरू पूरा गर्न समय दिन मद्दत गर्ने सभापति कँडेलले बताउनुभयो ।
यो सेवा यस क्षेत्रमा पहिलो भएको हुँदा यसबाट धेरै नागरिकलाई राहत मिल्ने विश्वास लिइएको छ । कावासोती उपशाखा क्षेत्र भित्र रहेका नागरिकहरूका लागि मर्चरी चेम्बरको प्रयोग गर्नको लागि दिनको पन्ध्र सय र उपशाखाको कार्यक्षेत्र बाहेक अन्य क्षेत्रका लागि दुई हजार व्यवस्थापन खर्च लाग्ने कँडेलले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाले समाजसेवा तथा मानवताको सेवामा अतुलनीय योगदान दिँदै रक्तसञ्चार सेवा, उद्धार तथा राहत कार्य, एम्बुलेन्स सेवा, शव बाहान सेवा, स्वास्थ्य सचेतना कार्यक्रम तथा विभिन्न सामाजिक सेवाहरू उपलब्ध गराउँदै आएको छ ।